arrow

विवादको भारी लिएर शितल निवासबाट बाहिरिँदै विद्या, भेटिनन् मदन भण्डारीका हत्यारा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
rastrapati-vidyadevi-bhandari.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गएको मध्यरातबाट निवर्तमान भएकी छिन् ।  उनको कार्यकाल सकिएपछि सोमबारबाट नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेसँगै आज उनलाई बिदाई गरिनेछ । भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई आजै दिउँसो शितलनिवासको साँचो हस्तान्तरण गर्नेछिन् र उनी आफ्नो घर फर्कने छिन् । 

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट दिउँसो १ बजे राष्ट्रपति भवन शित्तल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि पौडेल मुलकको अभिभावकीय पदमा आसिन हुनेछन् र उनको पाँच वर्षे यात्रा शुरु हुनेछ । 

मुलुकको तेस्रो राष्ट्रपतिको कार्यकाल सम्हाल्न लागेका पौडेलले आइतबार दिउँसो निवर्तमान राष्ट्रपति भण्डारीसँग कार्यकौशल र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए । ‘राष्ट्रपति संस्था भएकाले दुवै जनाबीच हार्दिकतापूर्ण कुराकानी भयो’, राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने । 

एमालेकै सर्वोच्च पदमा लक्ष्य राखेकी भण्डारी एमालेको उपाध्यक्ष हुँदै गर्दा २०७२ कात्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा उनी शित्तल निवास पुगेकी थिइन् ।

त्यसपछि उनले ७ वर्ष कार्यकाल पूरा गरिन् । उनको पद सेरोमोनियल भएको दलका नेताहरुले बताए पनि उनले संवैधानिक रुपमा कतिपय काममा चासो देखाउने र त्यस अनुरुपका काम कारबाही गर्दा निरन्तर आलोचना र समर्थनको भूमरीमा रहिन् । 

विदाई भेटमा आइतबार साँझ पुगेका कतिपय नेताहरुले उनको खुलेरै प्रंशसा गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय सन्दर्भमा राष्ट्रपतिले चालेका कदम व्यक्तिगत रुपमा कसैलाई मन नपरे पनि राष्ट्रको हितमा थियो भन्दै प्रशंसा गरेका थिए । 

‘राष्ट्रपतिको हिसाबले जे गर्नुभयो त्यो कतिपय व्यक्तिगत रुपमा मन नपर्ने थिए होलान् ती व्यक्तिगत कुरा भए तर राष्ट्रको हितमा धेरै काम गर्नुभयो । ती प्रशंसनीय छन्’, देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । 

तर तिनै विद्याले देउवालाई भने निकै नै अपमान गरेकी थिइन् । केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउँदा संविधानको मर्यादा नै नाघेर उनले नियुक्त गरिएको भाषा प्रयोग गरेकी थिइन् । त्यतिमात्रै हैन शपथ दिलाएपछि कुनै औपचारिकता बिना नै निवासतिर लागेकी थिइन् । 

अनि देउवाले आफ्नो कार्यकालमा भेट्न खोज्दा पनि भेट नदिने लगायतका कार्य गरेर उनले निकै सताएको शितल निवासका एक कर्मचारीले बताए । 

राष्ट्रपतिमा आसिन भैरहँदा उनको पुरानो दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको जुनकुनै कदमलाई पनि सही कदम भन्दै बचाउ गरे । अहिले पनि बचाउ गरिरहेका छन् ।  

कांग्रेस, माओवादी केन्द्र र एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी लगायतका दलले भने भण्डारीका कतिपय भूमिकाप्रति आलोचना गरे । 

अन्य दलको तुलनामा कांग्रेसले भण्डारीको खासै आलोचना गरेको पाइएन । 

खासगरी नेकपा कालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा सदर गरिदिएको, ओलीले सिफारिस गरेका संवैधानिक परिषद् सम्बन्धी अध्यादेशदेखि नागरिकतासम्वन्धी अध्यादेशमा कुनै रोकतोक स्वीकार गरिदिएको र त्यही प्रकृतिको नागरिकता अध्यादेश कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अगाडि बढाउँदा रोक्ने र संसदले पास गरेको विधेयकसमेत रोकेकोमा उनको आलोचना भएको थियो । 

एमाले नेता कार्यकर्ताले उनको यो कदमलाई राष्टवादी कदम भनेर प्रचार गर्यो भने विपक्षीहरुले विधि बाहिर गएर राष्ट्रपतिले कदम चालेको भन्दै टिप्पणी र आलोचना गरे । 

यसले पनि उनी ७ वर्षे कार्यकाल (दुईपटक गरी) मा निकै विवादित र आलोचनाको शिकारसमेत भइन् । उनी राष्ट्रपति भए पनि एमालेको एजेन्डाबाट कहिल्यै टाढा रहन सकिनन् । उनले पार्टीको महाधिवेशन होस् वा संवैधानिक निकायमा नियुक्ति होस् वा सासदका लागि उम्मेदवारी घोषणा गर्दा होस् हरेक पटक भाग खोज्दै आएकी थिइन् । 

उनले आफूले पनि संचारमाध्यमहरुमा भनेकी थिइन् कि एकपटक पार्टीको नेतृत्व सम्हाल्ने मन छ । त्यही इच्छालाई जिवितै राख्ने क्रममा उनी शितल निवासमा बसेर पार्टी चलाउने प्रयत्नमा रहिराखिन् । पार्टिको एजेन्डा बोकेरै हिँडेका कारण र उनले खेलेको भूमिकाकै कारण यसपटक राष्ट्रपति चयन गर्दा दलहरुले निकै चासो लिए । 

आफ्नो दलबाट राष्ट्रपति बनाउन उनीहरुले निकै कसरत गरे । उनकै भूमिका देखेरै देशीविदेशी शक्तिकेन्द्रहरुले पनि राष्ट्रपति पदमा कार्यकारी अधिकार रहेको जस्तै गरी निकै चासो र रुची देखाए ।

आरोप र विवाद
२०७२ कात्तिक ११ मा पहिलो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्या २०७२ पुस २ गते विधवाले दर्शन गरेको भन्दै जानकारी पाएपछि मन्दिर चोख्याउन लगाएरमात्र आफू मन्दिरमा दर्शन गर्न गएकी थिइन् । तर उनले भुलिन् कि उनी आफू स्वयं पनि विधवा नै हुन् । यस्तो घृषित काम गरेको भन्दै उनको चर्को आलोचना भएको थियो । 

२०७३ कात्तिक ६ गते सप्तरीको छिन्नमस्ता मन्दिर पुग्दा सैनिक जवानलाई जुत्ता बोकाएको आरोपमा पनि सञ्चारमाध्यम, सामाजिक संजालबाट उनले आलोचना खेपेकी थिइन् । 

२०७३ माघ दोस्रो साता राष्टपतिकै चाहनामा आवासका लागि ६२ करोडको बुलेट प्रुफ घर बनाइएको आरोप लगाइएको थियो । जुन निवासमा आजबाट रामचन्द्र पौडेल सर्दैछन् । त्यो सरकारी निवास थियो ।  

२०७३ माघ ३ गते कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका आफन्तसँग राष्ट्रपति निवासबाटै बिहे गरेको भन्दै निकै आलोचना भएको थियो । 

२०७४ असोज ३ मा राष्ट्रपति र उपराष्ट्रपतिको पदीय काम कारबाहीबारे मुद्दा नलाग्ने ब्यवस्था भएको कानून प्रमाणीकरण गरेको भन्दै उनको आलोचना भएको थियो ।  

२०७४ को दशैँको टीकामा केही व्यक्तिलाई कुर्सी र केहीलाई घुँडा टेकाएर टीका लगाइदिएको तस्बिर सार्वजनिक भयो । त्यसमा पनि उनीमाथि सामाजिक सञ्चालमा तीव्र प्रहार भएको थियो । 

उनी २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि २०७४ फागुन ३० गते प्रधानन्यायाधीशबाट बर्खास्तमा परेका गोपालप्रसाद पराजुली समक्ष सपथ लिएको भन्दै अर्को आचोचान गरिएको थियो ।

०७५ कात्तिक १२ गते विभिन्न देशले कतारमा नाकाबन्दी लगाएका बेला भ्रमण गरेकोमा पनि उनीमाथि प्रहार भएको थियो । 

२०७६ फागुनमा नेकपाको विवाद उत्कर्षमा पुग्दा मध्यस्थता भेटघाट गरेको आरोप लागेको थियो । 

२०७७ मंसिर ३० गते प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक निकायमा एकतर्फी गरेको नियुक्ति सिफारिस स्वीकार गरेको र  २०७७ पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस सदर गरेको तथा २०७८ जेठ ८ गते प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा पनि सदर गरेपछि सर्वोच्च अदालतमा रिट परेपछि ओली सरकार नै विघटन भएको थियो ।  

२०७९ भदौ २० गते राष्ट्रपतिको सन्देशपछि पनि दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तत्कालीन सरकार, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले तीव्र आलोचना गरेका थिए ।

उनले यही नागरिकता बारेमा सुझाव र सल्लाह लिने भन्दै थुप्रै एमाले निकटका नेता तथा बुद्धिजीवीलाई शितल निवासमा विभिन्न समूहमा बोलाएर भोज खुवाएकोप्रति पनि आलोचना भएको थियो । 

त्यतिमात्र हैन उनले विभिन्न सुरक्षाकर्मीसँगै सेनाका अधिकारीहरुलाईसमेत बोलाएर त्रासको अवस्था सिर्जना गरेको आरोपसमेत लागेको थियो । 

मदन भण्डारीको नाममा भयो राजनीति तर पदमा पुगेपछि खोजिएन हत्यारा 

समग्रमा महिला राष्ट्रपति बनेकामा विद्यादेवी भण्डारीले मान सम्मान अधिक पाइन् । उनले पदीय ओज पनि बढाइन् । मदन भण्डारीले कल्पेको सपनाको कुर्सीमा उनी दुई पटक विराजमान भइन् । 

मदन भण्डारीको २०५० सालमा दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । नेपाली कम्युनिष्टका प्रखर नेताको निधनले मुल्ुक स्तब्ध भयो । त्यसयता पत्नीको हिसाबले विद्याको राजनीतिको ढोका खुल्यो । 

मदन भण्डारीले २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर काठमाडौंबाट चुनाव जितेका थिए । उनको वाहीवाही थियो । 

सोही क्षेत्रबाट उपनिर्वाचनमा लडेर विद्याले चुनाव जितिन् । त्यसयता उनी विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री भइन् । एमालेको उपाध्यक्ष भइन् र राष्ट्रपतिसमेत भइन् । राष्ट्रपति नहुन्जेलसम्म आफ्ना पतिका हत्यारालाई जसरी पनि कठघरामा उभ्याउने बताएकी थिइन् । 

उनको हरेक कदममा केपी ओलीले साथ दिएका थिए । तर दुर्भाग्य ओली दुई पटक प्रधानमन्त्री भए । विद्या दुई पटक राष्ट्रपति भइन् । मदन भण्डारीका हत्यारा बाहिरै रहे । 

ओली र विद्याले मदन भण्डारीको नाम बेचेर राजनीति गरे । सच्चा कम्युनिष्टहरु उनीहरुको बोलीको भरोसामा रहे । 

हत्या थियो भनेर कि प्रचार गर्नु हुँदैनथ्यो । होइन भने शक्ति र सत्तामा गएका बेलामा मौन बसेर तमासा गर्नु हुँदैनथ्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ