arrow

स्यालको सिनो खाँदा तीन गिद्ध मरे, एक दर्जन बिमार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
vulture-died-3.jpg

चितवन । पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन् । 

झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् । कावासोती–३ को केरूङ्गे खोलामा मरेका तीन वटा स्यालको सिनो खाएका गिद्धहरु मरेको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार बिषाद्यी खाएर मरेको स्यालको सिनो खाएका कारण गिद्धहरु मरेको देखिन्छ’ ईश्वरी चौधरीले भने ।  

घरपालुवा जनावरले दुःख दिएपछि विष हालेको खाना वा कुनै आहार किसानले राखेको र सोही विषाक्त खाना मृतक स्यालले खाएको हुन सक्ने अनुमान गरिएको छ । विष खाएर मरेको सोही स्यालको मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए ।

उनका अनुुसार बिरामी परेका गिद्धको भने उपचार भइरहेको छ । उनका अनुसार जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना सम्भवतः नेपालमै यो पहिलो हो ।

गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणमा अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोली घटनास्थल पुगेका थिए । 

विषाक्त सिनो खाएर डङ्गर जातको हिमाली गिद्ध मरेको र बिरामी परेको पाइए पछि थप मरेको वा बिरामी भएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको र सो खोजी कार्य केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

दुई दिनअघि मात्र डङ्गर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक बासस्थान जंगलमा छाडिएको थियो ।

गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरको सिनो खादा ठूलो संख्यामा गिद्धहरु मरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ