arrow

उपराष्ट्रपतिका मुख्य प्रतिस्पर्धी दुई उम्मेदवार के भन्छन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
ramsahaya-yadav-vice-president-candidate.jpg

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसकेकी छन् । 

उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वोच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताइन्।

उनले भनिन्, “म विजयी भएको खण्डमा पदको गरिमालाई कायम राख्दै सबैलाई अपनत्व प्रदान गर्ने भूमिकाका लागि कोसिस गर्नेछु । मतदातासमक्ष यसैका लागि आशा भरोसा राखेर मत मागेको छु, मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।” 

अर्का उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले नेपालको संविधानको पालना र रक्षाका लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिए।

उनले भने, “निर्वाचित भएको खण्डमा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, संविधान र कानूनको कार्यान्वयनमार्फत मुलुकलाई शान्ति र समृद्ध तुल्याउने कार्यमा मेरो भूमिका रहनेछ ।”

दुवै उम्मेदवारले राजनीतिक दल, तिनका संसदीय दलका नेता तथा मतदातालाई प्रत्यक्ष भेटेर तथा टेलिफोन सम्पर्क गरी आ–आफ्नो पक्षमा मतदान गर्न र त्यसका लागि वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टाअघिदेखि अर्थात् मङ्गलवार राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुनेछ ।

निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारलाई मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न सुझाव दिएको छ । 

मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई अमूल्य मतदान गर्न निर्वाचक मण्डलका सदस्यलाई आयोगले अनुरोध पनि गरेको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था रहेको उक्त पद कुनै व्यक्ति विशेषका लागि खडा गरिएको नभई देशको स्थिति र अवस्थालाई मध्यनजर राखेर बनाइएको महत्त्वपूर्ण पद मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ