arrow

राष्ट्रपति पौडेलले अपनाए नागरिकमैत्री नीति, बिना कारगेट कुमारीको दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
ramchandra-poudel-kumari-ghar.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । अपराह्न बसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । 

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए । 

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका हुन् । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि शनिबारै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ ।

राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन । बसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । अगुवा र पछुवा गाडी मात्रै लिएर राष्ट्रपति पौडेल बसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तोसमेत पाएनन् । 

अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् । बिना कारगेट गएर पौडेलले गतिलो सन्देशसमेत दिएका छन् । यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारी यही विषयमा आलोचित हुँदै आएकी थिइन् । 

उनी आफूले सम्मान पाउनु पर्ने बताउँदै आएकी थिइन् । उनी कारगेटसहित सवारी गर्दा नागरिकले भने सडकमा सास्ती खेप्नु पर्दै आएको थियो । 

गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सुझाव दिने क्रममा धेरैले सडकमा सर्वसाधारणले दुःख पाउन नहुने विषय उठान गरेका थिए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ