arrow

सिस्टर आश्मा जसले दिन्छिन् विद्यालयमा नियमित सेवा

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ चैत ७ मंगलबार
nurse-ashma-acharya.jpg

मोरङ । मोरङको रमाइलो बजारमा रहेको एक सामुदायिक विद्यालय जहाँ विद्यार्थीहरुलाई विद्यालयमै निःशुल्क प्राथमिक उपचार तथा परामर्श गरिन्छ । कानेपोखरी गाँउपालिका ६ रमाइलो बजारमा रहेको जनसेवा नमूना माध्यमिक विद्यालयमा दैनिक १५ देखि २० छात्र–छात्राले प्राथमिक उपचार सेवा पाइराखेका छन् ।

दुई वर्ष अघिदेखि विद्यालयमा शुरु भएको विद्यालय नर्सिङ कार्यक्रमले उक्त विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिका लाभान्वित भएका छन् । कुल एक हजार ३ सय १७ विद्यार्थी मध्ये ५५ प्रतिशत छात्रा छन् । 

अधिकांश छात्रालाई महिनावारीका बेला समस्या हुने भएकोले विद्यालयमै ‘विद्यालय नर्स कक्ष, प्राथमिक उपचार तथा परामर्श केन्द्र’ स्थापना गरिएको प्रधानाध्यापक दामोदर सिग्देल बताउँछन् । 

दुई वर्षअघि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टार्फ नर्स आश्मा आचार्यले दुई वर्षयता विद्यालयमा दैनिक सेवा दिइरहेकी छिन् । विद्यालय भित्रकै एक कोठामा उपचार गरिँदै आएको छ । 

कोशी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम संचालन भइरहेको र गाँउपालिकाको पनि सहयोग मिलिरहेको प्रधानाध्यापक सिग्देलले बताए । विद्यार्थीलाई चाहिने केही औषधी विद्यालय आफैँले पनि खरिद गर्ने गरेको प्रधानाध्यापक सिग्देलले बताउँछन् ।

 विद्यालयले छात्रालाई मासिक प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । छात्रालाई चाहिने सम्पूर्ण प्याड गाउँपालिकाले सहयोग गर्ने गरेको छ । ‘धेरैमात्रामा छात्रा बढी बिरामी हुन्छन् अधिकांशमा महिनावारीका बेला समस्या हुन्छ,’ स्टाफ नर्स आश्मा आचार्य बताउँछिन् । 

‘यहीँ गर्न सकिने प्राथमिक उपचार हामीले गछौँ, नसकेको अवस्थामा अस्पतालसम्म लैजान सहजीकरण गर्दै आएका छौँ ।’ ‘कतिपय विद्यार्थीमा बेहोस हुने, लड्ने जस्ता समस्या आइपर्छन् उनीहरूको उपचार यहीँ हुन्छ ।’ कहिलेकाँही विद्यार्थीमा ‘कन्भर्जन डिसअर्डर’ हुने भएकाले आफूले जनचेतना फैलाउने गरेको आचार्य बताउँछिन् । 

उपचार केन्द्र व्यवस्थापनका लागि पाँच जनाको समिति निर्माण गरिएको छ । हाल मोरङमा १८ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ