arrow

भारतमा तेल आपूर्ति बढाउने रुसी सम्झौताको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
India-russia-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौं । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रुसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ ।

क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने निर्णय गरेपछि कीभका सहयोगीहरूले रुसी तेल क्षेत्रमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा रूसको हिस्सा धराशायी भएको थियो ।

रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी ‘इन्डियन आयल कर्पोरेसन’का प्रमुखसँग सम्झौता गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “रोसनेफ्ट आयल कम्पनी र इन्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको छ ।

रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन । रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत वर्ष मास्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताएका थिए । 

रोसनेफ्टका अनुसार दुई तेल कम्पनीका प्रतिनिधिहरूले ‘राष्ट्रिय मुद्रामा भुक्तानी गर्ने सम्भावना’ बारे पनि छलफल गरेका थिए । यसले रुसको अर्थव्यवस्थालाई डि–डलराइज गर्ने प्रयासलाई इङ्गित गर्दछ ।

ओपेक तेल आपूर्तिको प्रमुख उत्पादक तथा प्रमुख सहयोगी रुसले पश्चिमी प्रतिबन्धको जवाफमा यस महिना कच्चा तेलको उत्पादनमा प्रति दिन पाँच हजार ब्यारेल कटौती गरेको छ ।

रुसविरुद्ध पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रोसनेफ्टले यस महिनाको शुरुमा वार्षिक नाफामा भारी गिरावट आएको जनाएको छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ