arrow

एसईई शान्तिपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
see-students-2079a.jpg

काठमाडौं । शुक्रबार बिहान ८ बजेबाट शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका-६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिएका हुन् ।

यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।

यता, एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् ।

शुक्रबारदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।

उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् ।

कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन् ।

एसइईको पहिलो दिन शुक्रबार अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ