arrow

तनहुँ १ मा रोमाञ्चक भिडन्तः गोविन्द, स्वर्णिम र सर्वेन्द्र भिड्ने, जोशीको मत निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
govinda-swarnim-sarvendra-tanahu1-2080.jpg

काठमाडौं । मंसिर ४ को संघीय निर्वाचनमा चितवन क्षेत्र नं.१ वा २ मा नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्न चाहेका स्वर्णिम वाग्ले यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएपछि सबैको ध्यान तनहुँ क्षेत्र नं १ मा तानिएको छ । 

त्यतिमात्र होइन नेपाली कांग्रेसभित्र पछाडि परेका गोविन्द भट्टराई र एमालेबाट सर्वेन्द्र खनालले पनि त्यही क्षेत्रबाट निर्वाचन लड्ने हुँदा त्यहाँको रौनक बढ्ने देखिएको छ । 

बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन वटै उम्मेदवार फरक फरक पृष्ठभूमि र पहिचानबाट आएका छन् । 

आर्थिक क्षेत्रको विज्ञको रुपमा चिनिएका र नेपाली कांग्रेसको तर्फबाट पटक पटक लाभको पद लिइसकेका वाग्नेले कांग्रेसलाई गाली गर्दै रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । 

त्यस्तै सुरक्षा निकायको उपल्लो तह आईजीपीबाट अवकाश पाएका तर काठमाडौं क्षेत्र नं ६ मा रास्वपाकै उम्मेदवारसँग पराजित भएका सर्वेन्द्र खनाल पनि त्यही क्षेत्रमा एमालेको तर्फबाट जाँदैछन् । 

जसले गर्दा त्यहाँ त्रिपक्षीय भिडन्त हुने देखिएको छ । मंसिर ४ मा भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल फागुन २६ मा राष्ट्रपतिमा निर्वाचित भएर राजीनामा दिएसँगै सो क्षेत्रमा उपनिर्वाचन  हुन लागेको हो । 

नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

उनी भट्टराई नेविसंघका पूर्व अध्यक्षसमेत हुन् । उपनिर्वाचनमा सत्ताधारी गठबन्धनका मुख्य दलबीच मिलेर जाने सहमति भएअनुसार उक्त स्थानमा नेकपा माओवादी, नेकपा एस र जसपाले उम्मेदवार नउठाउने भएका छन् । 

एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ । नेपाल प्रहरीका पूर्व आईजीपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा भएकाले यसपटक उनी आफूले जित्ने अवस्थामा रहेको बताउँदै आएका छन् । 

सर्वेन्द्रका दाजु सुवीर खनाल नेपाली कांग्रेसका नेता हुन् । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव र पछि विज्ञको रूपमा रहेरसमेत काम गरेका थिए । 

अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायक मन्त्री भएका थिए । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पारेका थिए  । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९२५ मतमा रोकिए । दुईजना बीचको मतान्तर ५ हजार ३८८ रहेको थियो । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका थिए । 

अहिलेको निर्वाचनमा त्यहाँ जोशी समूहले जसलाई सहयोग गर्छ उसले निर्वाचन जित्ने संभावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ