काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पसमा पुनः निर्वाचन गराउन माग गरेको छ । मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि उक्त माग गरेका हुन् ।
प्रेस विज्ञप्ति
रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी सङ्घ लगायत अन्य विद्यार्थी संस्थासँग कुनै समन्वय नै नगरी अमुख विद्यार्थी सङ्गठनको पक्षपोषण हुने गरी २०७९ चैत्र १७ गतेका दिन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेको घटनालाई लिएर पुनः निर्वाचन गराउन र दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्यार्थी सङ्घ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।
चैत्र १७ गते नै उक्त अवैधानिक निर्वाचनको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी सङ्घका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहनु भएका आशिष जैसी देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको थियो । चैत्र १७ गते घाइते हुनु भएका देवकोटा, यादव र हिजो घाइते हुनु भएका अर्यालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उक्त घटनाको यथार्थ छानबिन गरी अवैधानिक रूपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, घाइते विद्यार्थीहरूको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ ।