arrow

भीम रावलसँग छलफल गर्नुअघि विष्णु पौडेल बिमार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
bishnu-poudel-bhim-rawal.jpg

काठमाडौं । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टसल गर्दै आएका डा. भीमबहादुर रावललाई  पार्टीमा उचित जिम्मेवारी दिने विषयमा बनेको वार्ता समितिको बैठक केही दिनका लागि स्थगित भएको छ । 

वार्ता समितिका संयोजक विष्णुप्रसाद पौडेललाई बिसञ्चो भएपछि केही दिन स्थगित भएको स्रोतले जनाएको छ । सोमबार दिउँसो पार्टी कार्यालयमा रावलसँग छलफल गर्ने भनिएको थियो । तर पौडेललाई विसञ्चो भएपछि सोमबार वार्ता हुन सकेन । 

पार्टी नछाडेको तर पार्टीको विधि विधानसमेत नमानेको र विगतमा संसदमा रहँदा पार्टीको ह्विपसमेत उल्लंघन गरेको भन्दै अहिलेसम्म जिम्मेवारीविहीन बनाइएका रावलसँग पार्टी नेतृत्वको निरन्तर टसल परेपछि उनलाई जिम्मेवारी दिने कि हटाउने भन्ने विषयमा निर्णय गर्न सचिवालय बैठकले पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता समिति बनाएको थियो । 

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग अछाममा आयोजित ‘ग्रास रुट’ कार्यक्रममा विवाद भएपछि एमालेभित्र रावलको विषयलाई लिएर गम्भीर छलफल भएको थियो । 

शनिबार बसेको पार्टी सचिवालय बैठकमा पनि यो विषयले प्राथमिकताका साथ उठेपछि उपाध्यक्ष पौडेलको संयोजकत्वमा समिति बनेको थियो । बैठकमा नेताहरुले जिम्मेवारी लिएर काम गर्ने हो भने जिम्मेवारी दिने र होइन भने उनीसँग कुरा गरेरै बिदा गर्ने धारणा राखेपछि नेता रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको  सो टोलीसँग वार्ता गर्न रावल पनि तयार भएका थिए । 

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाले पनि उनीसँग कुरा गरेर अहिले अवस्था टुंग्याउनु पर्ने बताइएको थियो । 

त्यसअघि केन्द्रीय सदस्यहरु दयालबहादुर शाही लगायतका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका नेताहरुले पार्टी अध्यक्षलाई भेटेर रावललाई पार्टीभित्र जिम्मेवारी दिएर खटाउन आग्रह गरेका थिए । सोही आग्रहलाई मान्दै ओलीले वार्ता समिति बनाएर जिम्मेवारी दिन चाहेको एमाले नेताहरुले दाबी गरेका छन् । 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समेत रावलले पार्टीलाई सहयोग नगरेको भन्दै एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको हो । चितवनको सौराहामा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएयता केपी ओली र रावलको सम्बन्ध थप चिसिएको थियो । ओलीलाई सर्वसम्मत बनाउने कसरतमा रावल बाधक बनेपछि ओली चिढिएका थिए । रावलले अहिले विहान कुराकानी गर्दै आफू पार्टीमा नीति सिद्धान्तमा र आफूले उठाएको राष्ट्रियताको सवालमा छलफल गर्न र उचित जिम्मेवारीकै पक्षमा रहेको बताएका छन् । रावलले मानेमा एमाले अध्यक्ष पनि कुनै न कुनै जिम्मेवारी दिएर पार्टीमा राख्ने पक्षमा रहेका छन् । ‘ओेलीले रावललाई स्थायी समिति सदस्य बनाउन चाहेका छन्’, स्रोतले भन्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ