- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको सिक्किममा तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा कम्तीमा तीन नेपालीसहित सात पर्यटकको ज्यान गएको हो ।
गान्तोक-नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा रुपन्देहीका मुना शाह श्रेष्ठ र चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् ।
साथै घटनामा अन्य चार जना भारतीयको पनि मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् ।
हिम पहिरो गएसँगै छ पर्यटकहरू सहित २३ जनालाई जीवितै उद्धार गरिएको थियो । खराब मौसमको कारण साँझ पछि उद्धार कार्य स्थगित गरिएको थियो ।
सरकारी अधिकारीहरूले उद्धार गरिएका १४ जना पर्यटकमा नेपाल, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीका बासिन्दा रहेको बताएका छन्। उनीहरू सबैको उपचार भइरहेको छ ।
जीवित उद्धार गरिएकामध्ये कम्तीमा ८ जनाको अवस्था गम्भीर रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । नाथुला पास सिक्किम र तिब्बत बीचको रणनीतिक महत्त्वको क्षेत्र हो । यसलाई पर्यटकको आकर्षक गन्तव्यको रूपमा मानिन्छ ।