arrow

रविमाथि एमालेको एकोहोरो प्रहार, आरोपसहित चुनावी प्रचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
uml-cpn.jpg

काठमाडौं । पुस १० मा बनेको नयाँ गठबन्धनले सरकारमा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री दिनुपर्छ भन्ने नेकपा एमाले अहिले भने उनै लामिछानेप्रति नकारात्मक टिप्पणी गर्न तल्लीन रहेको छ । 

एमाले महासचिव शंकर पोखरेलले चितवन २ को उपनिर्वाचनमा उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रहार गर्दै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी शुरु गरेका छन् । 

अहिले उपनिर्वाचनमा रवि र एमाले दुवैलाई अप्ठेरो अवस्था रहेको बेला एमाले महासचिवले रविलाई कटाक्ष गरेका छन् । यसबाट उपनिर्वाचनमा एक्लाएक्लै मैदानमा रहेका रास्वपा र एमालेबीचको सम्बन्ध चिसिएको प्रष्ट देखिन्छ । 

रविकै क्षेत्रमा एमालेका पोलिटव्यूरो सदस्य गोकुलप्रसाद बाँस्काटा खटिएका छन् । उनले पनि बेला बखत रविलाई सार्वजनिक रुपमै टिका टिप्पणी गरेका हुन्छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा रवि पुस १० मा बनेको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । रविलाई गृहमन्त्री बनाउनेमा ओलीकै भुमिका रहेको थियो । 

तर उक्त गठबन्धन भत्किँदा रास्वपाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले विस्तारै रविको विपक्षमा उभिए पनि खुलेर अझै आउन सकेको छैन । 

प्रचण्डलाई विश्वासको मत दिनुअघि महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्ध राहदानी मुद्दा नचलाउने निर्णय लिएको थियो । यही प्रसंगलाई सम्झाउँदै पोखरेलले रवि र उनी नेतृत्वको रास्वपामाथि कडा प्रहार गरेका छन् । 

पोखरेलले अहिलेको गठबन्धनलाई सघाएर रविले राहदानी मुद्दामा क्षमादान लिएको पनि दाबी गरेका छन् । प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको यो गठबन्धनलाई पनि उनले भ्रष्टको संज्ञा दिएका छन् । 

‘मुलुकको वैध अर्थतन्त्रलाई कमजोर बनाएर अवैध अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने देउवा–प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरुले उपचुनावमा सुशासनको ‘घण्टी’ बजाउनुको कुनै अर्थ र महत्व बाँकी रहेन’, उनले भनेका छन् । 

एमालेले चितवन २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाएको छ । जहाँ नागरिकता प्रकरणमा माघ १३ सबै पद गुमाएका रवि पनि फेरि भिड्दैछन् । कांग्रेसबाट स्थानीय नेता जितनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

उनीहरुले चुनावी अभियान शुरु गरिसकेका छन् । चितवनमा पहिलाको भन्दा अहिले लामिछानेको अवस्था कमजोर बन्दै गएको अवस्थामा एमालेले रविमाथि प्रहार शुरु गरेको छ । 

तर कांग्रेसले भने कसैलाई पनि गाली नगरी चुनावी अभियान थालेको छ । रास्वपाका सभापति लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी कायम रहने निर्णय भैसकेको छ ।

 उम्मेदवारीविरुद्ध परेका उजुरी सम्बन्धमा छानबिनपछि निर्वाचन अधिकृतको कार्यालय चितवनले उम्मेदवारी कायमै रहने निर्णय बुधबार गरेपछि उनलाई राहत महसुस भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ