arrow

भीम रावलसँग वार्ता गर्ने आँट गरेनन् नेताहरुले, बित्यो साता व्यर्थैमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
bishnu-poudel-bhim-rawal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले आफ्नै पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलसँग वार्ता गर्न समिति बनाएको एक साता भएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा वार्ता समिति बनेको भए पनि सो समितिले अहिलेसम्म संवाद शुरु गरेको छैन । 

सोमबार दिउँसो पार्टी कार्यालयमा संवाद गर्ने भनिए पनि पौडेल बिरामी परेपछि रोकिएको थियो । त्यसपछि अहिलेसम्म संवाद शुरु हुन नसकेको हो । 

एमालेले रावललाई पार्टीको मूल प्रवाहमा ल्याउन वार्ता गर्न लागेको जनाएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भीम रावललाई मूल प्रवाहमा ल्याउन एमालेले वार्ता टोली गठन गरेको बताएका छन् । 

उपमहासचिव गुरुङले रावलले पार्टीलाई असहयोग गरेका कारणले वार्ता टोली गठन गरिएको बताएका हुन् । भीम रावलले एमालेको ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएपछि अहिले मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनको दाबी छ ।

‘ग्रासरुट अभियान, स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा उनले गरेको असहयोगबारे छानबिन भइरहेको छ, उनलाई पार्टीको मूल प्रवाहमा ल्याउन वार्ता टोली गठन भएको छ,’ उनले भने । 

एमालेले गत चैत १८ गते शनिबार उनीसँग वार्ता गर्ने निर्णय गरेको थियो । उपाध्यक्ष विष्णु पौडेललाई वार्ताको नेतृत्वको जिम्मा दिए पनि उनीहरुबीच भेटघाटको वातावरण पनि तयार भएको छैन । 

खासमा रावलले पार्टीभित्र राखेको असहमति मात्रै भन्दा पनि पार्टी छोड्न लागेका कारणले त्यस्तो गरिएको भए पनि रावलले त्यसलाई अस्वीकार गरेका छन् । रावल निकट भविष्यमा नेकपा एकीकृत समाजवादीमा जाने तयारी रहेको र एसनिकट स्रोतको भनाइमा एसको तेस्रो वरीयतामा रहने गरी उनी प्रवेश गर्ने तयारी भएको बताइएको छ । तर पनि रावलले माधव नेपालको चर्को विरोध गरेकाले त्यता जाने संभावना नरहेको बताउनेहरुको जमात ठूलै छ । 

एसका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणी जंगली लगायतका नेताहरुले पार्टी छोडेपछि रावललाई व्यवस्थापन गर्न चाहिँ सजिलो हुने बताइए पनि उनीहरुले पार्टी छाडेपछि रावल आफैँ पनि त्यतातिर आकर्षित नभएको रावल निकट रहेका नेता कार्यकर्ताको दाबी छ ।  

रावललाई रोक्नका लागि वार्ता समिति बनाएको भन्ने चर्चा एमालेभित्र भइरहेको छ । रावल एसमा गएमा एसबाट एमाले आउने नेताहरु रोकिने र एस विभाजित नहुने अनुमान एमालेका नेताहरुको रहेको छ । 

सोही कारण जसरी पनि रावललाई रोक्नुुपर्ने अभिमत एमालेभित्र रहेको र त्यसमा पछिल्लो पटक एमालेका केन्द्रीय सदस्य दयालबहादुर शाहीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरिरहेका छन् । 

ओलीले पनि शाहीलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेताहरुसँग राय लिएर नै वार्ता समिति बनाएको स्रोतको दाबी छ । 

यतिबेला ओली र रावलले एक अर्कालाई छेँडखानी नगरी वार्ताको वातावरण बनाइरहेको पनि स्रोतको दाबी छ । 

बिरामी भएका विष्णु पौडेल बिहीबार बुटवल पुगेका थिए । उनी काठमाडौं आएपछि वार्ता शुरु हुने बताइएको छ । 

पछिल्लो पटक ओली र रावलवीच राष्ट्रवादको शब्दको लडाइँ चलिरहेको बेला यो वार्ता समिति बनेको छ । 

आफूलाई ‘राष्ट्रवादी नेता’ का रुपमा प्रस्तुत गरिरहेका ओलीका लागि रावल चुनौती बनेका छन् भने रावलले पनि ‘राष्ट्रवादी’ देखिने गरी केही एजेन्डालाई यति जोडतोडका साथ उठाएर ‘ओलीको राष्ट्रवाद’ मा सानो–ठूलो धक्का दिइरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ