arrow

खोप लगाउन छुटेका बालबालिकाको खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
corona-vaccine-child.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर-घरमा पुगेर खोजी गर्न थालिएको छ ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई  घर-घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । 

उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा-वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उनले बताए । 

चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको एकिन गरी खोप लगाइने छ । “वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने उद्देश्यले घरधुरी सर्वेक्षणमा जुटेका छौँ”, बस्नेतले भने। 

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि  भइरहेको छ । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ । नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी  कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।  

कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ । वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ