arrow

कोरियाका पूर्वमन्त्रीले सम्झाए आयोगका उपाध्यक्षलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
lee-nepal.JPG

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए ।

उनले भने, “नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।” 

हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गरे । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए । 

साताव्यापी नेपाल भ्रमणमा आएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गरेका थिए ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । उनले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा राखे । उपाध्यक्ष श्रेष्ठले आयोग १६औँ पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ