arrow

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
kapan-flood.jpg

काठमाडौं ।  कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई  धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो । 

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनले भने, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ । उनले भने, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।” 

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । “आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उनको भनाइ छ । 

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो । करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो । 

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौं महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ । 

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आउनुभएको छ । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ