arrow

न्याय पायो निरीह सिंहदरबार, राष्ट्रपति कार्यालय र बालुवाटारले, १८ दिन लाग्यो फोहर हटाउन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
fohar-फोहर.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ दिनपछि सोमबार सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहर व्यवस्थापन शुरु गरेको छ । गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाधि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन दिनभित्र फोहोरको व्यवस्थापन गर्न कामपाका नाममा आदेश जारी गरेको थियो । 

जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटकपटक असहयोग गरेको आरोप लगाउँदै गत चैत २५ गते कामपाका प्रमुख वालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबार लगायतको फोहर नउठाउने बताए । 

गत चैत २५ देखि नै यी तीनै स्थानको फोहर व्यवस्थापन हुन सकेको थिएन । अदालको आदेशकै आधारमा कामपाले सोमबारदेखि उक्त स्थानहरुको फोहोर व्यवस्थापनको काम थालेको हो । १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने कामपाले जनाएको छ ।   

अहिले मुख्य प्रशासनिक निकाय सिंहदरबारमा ७० टन, राष्ट्रपति कार्यालयमा ३५ र बालुवाटारमा १५ टन फोहर जम्मा भएको कामपाको अनुमान छ । कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार केन्द्र सरकारले स्थानीय सरकारलाई सहयोग नगरेकाले कामपाले यस्तो कदम चाल्नुपरेको बताए । लम्सालका अनुसार सोमबारदेखि फोहोर व्यवस्थापनको काम शुरु भएको छ । कम्तीमा चार दिनभित्र तीनैवटै स्थानको सबै फोहोरको अन्तिम विसर्जन हुन्छ ।  

गत मङ्सिरमा थापाथलीस्थित बागमती किनाराका सुकुम्बासी बस्ती हटाउने काम होस् या गत चैत २४ गते तीनकुनेदेखि सिनामङ्गलसम्मको सुकुम्बासी बस्तीमा डोजर चलाउनका लागि पनि केन्द्र सरकारको सहयोग नरहेको गुनासो कामपाको छ ।  

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले उक्त स्थानमा फोहोर ओसार्छन् ।

अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । शुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ