arrow

वामपन्थी मतले विजयी बनेका स्वर्णिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
swarnim-wagle-tanahu-1-rsp.jpg

काठमाडौं । तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराई दोस्रो स्थानमा रहे । 

नेपाली कांग्रेस पृष्ठभूमिका स्वर्णिम उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र कांग्रेस छाडेर रास्वपामा गएका थिए । तर उनले पाएको मत भने कांग्रेसको थिएन । जितको आधार वामपन्थी मत नै हो ।  

कांग्रेसका मतदाताहरूले गोविन्दलाई माया नै गरे । गोविन्दले स्थानीय स्तरमा गरेको कामको मूल्याङ्कन गर्दै कांग्रेसका अधिकांश मतदाताले आफ्नो मत भट्टराईलाई नै दिएका हुन् । 

भट्टराईले खानेपानीमा गरेको कामको मुल्याङ्कन गर्दै मत पाएका हुन् । यसपालि उनलाई मत दिन नसक्ने भन्दै स्वर्णिमलाई मत दिनेहरूले पनि गोविन्द राम्रो मान्छे रहेको तर यसपालि मत परिवर्तन गर्ने बताएका थिए ।

गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल (हालका राष्ट्रपति) २५ हजार ३६१ मतसहित विजयी भएका थिए । नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

तर बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिमले ३४ हजार ९१९ मत प्राप्त गर्दा कांग्रेसका गोविन्दले २० हजार १२२ मत प्राप्त गरे । त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत मात्र प्राप्त गर्न सके । अन्य साना दलहरुले पाएको मत भनेको जम्मा ६०६ मात्रै हो । 

यसरी दुई निर्वाचनमा हेर्दा एमालेले करिब ११ हजार ४९३ सय मत गुमाएको हो । त्यसैगरी कांग्रेसले करिब ५ हजार २३९ मत गुमाएको छ । दुवै निर्वाचनमा कांग्रेसलाई गठबन्धनको साथ रहे पनि उपनिर्वाचनमा गठबन्धनमा रहेका अरु दलहरुका मतदाताले कांग्रेसलाई मतदान गरेनन् । त्यही मत कांग्रेसले पाएन ।

विशेषगरी नेकपा माओवादी केन्द्रका मतदाताहरूले कांग्रेसलाई मत नदिएको कांग्रेसको बुझाइ रहेको छ । यसरी हेर्दा कांग्रेसले आफ्नो मत नगुमाए पनि उक्त मत जितका लागि पर्याप्त रहेन । कांग्रेस पृष्ठभूमिका स्वर्णिमले कांग्रेसको धेरै मत काट्ने पूर्वानुमान गरिएको भए पनि उनले विशेषगरी एमालेको मत आफूतिर तानेका छन् । माओवादीको मत पनि उनलाई नै गएको छ ।

स्थानीय निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नं १ मा पर्ने पालिकाहरूका वडाध्यक्षहरूले पाएको मतलाई हेर्दा पनि एमालेले धेरै मत गुमाएको पाइएको छ । कांग्रेसले उक्त क्षेत्रमा रहेका वडाध्यक्षहरूले पाएको कूल मत ३३ हजार १०६ रहेको छ भने एमालेले २२ हजार २ सय १० मत प्राप्त गरेको थियो । त्यसैगरी माओवादीले ८ हजार ४ सय ७४ मत प्राप्त गरेको थियो ।

तनहुँ १ मा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका , भानु नगरपालिका र ब्यास नगरपालिकाका १–४ र ७–११ वडाहरू पर्छन् । 

यसमा आँबुखैरनी प्रमुखमा माओवादी केन्द्रले जितेको हो भने बन्दिपुर एमालेले जितेको हो । देवघाट गाउँपालिका, ब्यास र भानु नगरपालिका प्रमुख कांग्रेसले जितेको हो । 

स्वर्णिमको जितको फ्याक्टर
यसरी कांग्रेसले आफ्नो मत नगुमाएको भए पनि सत्ता गठबन्धनका दलहरुले दिएको धोकाका कारण गोविन्दले कम मत पाए । 

सत्ता सहयात्री अन्य दल (माओवादी, नेकपा एस, जसपा, लोसपा लगायत) का त आफ्ना उम्मेदवार नै थिएनन् । जसका कारण उनीहरुका मत औंलामा गन्नेगरी मात्रै गोविन्दलाई आएको हुन सक्ने स्थानीय कांग्रेस नेताहरुको अनुमान छ । 

तर एमालेले नै आफ्ना उम्मेदवारलाई भोट नदिएर आधा बढी मत मत स्वर्णिमलाई दिएसँगै स्वर्णिमको जितको आधार बन्यो । 

त्यसैगरी पहिलेदेखि नै रामचन्द्र पौडेलसँगको आन्तरिक द्वन्द्वका कारण कांग्रेसबाट कारबाहीमा परेका गोविन्दराज जोशीका ६ हजार ८८६ मत (उनले मंसिर ४ को निर्वाचनमा ल्याएको मत) पनि स्वर्णिमलाई नै गए । 

जोशी समूहबाट कोही पनि चुनावमा खडा नभएको, कांग्रेसले जोशीको कारबाही हटाएको घोषणा गरेको भए पनि प्रक्रिया बिना नै आफूसँग छलफल नै नगरी हचुवामा कारबाही हटाउनुको तुक नभएको तर्क गर्दै स्वर्णिमलाई नै सघाउँदा स्वर्मिणलाई फाइदा भयो । 

जोशीका छोरा दीपकराज जोशी र रास्वपा सभापति रवि लामिछानेबीचको छलफलपछि स्वर्णिमलाई मत दिने निर्णय भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ