arrow

शेयर बजारमा जोखिम न्यूनीकरणका लागि ध्यान दिनपर्ने कुराहरू

logo
निश्चलराज दवाडी
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं। रसियन-युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेलको मूल्य, उच्च मुद्रास्फीति आदि अनेकौँ बाह्य कारकका कारण उब्जिएको मन्दी र तरलताको अभावसँगै नेपाली शेयर बजार पनि अत्यन्त प्रभावित भइरहेको बुझ्न सकिन्छ । अनेकन् आन्तरिक कारण र बजेट भाषण तथा आर्थिक वर्ष अन्त्य हुन केही महिना मात्र बाँकी रहँदा, दोस्रो बजार (सेकेण्डरी मार्केट)मा प्रवेश गरेका अनेकन् लगानीकर्ताहरू अनिश्चित पुँजी बजारको भविष्य प्रक्षेपण गर्दै चाहेर या नचाहेर सेयर खरिद गर्न हिच्किचाइ रहेको अवस्था छ । 

यसको प्रभाव नेप्सेमा कारोबार हुँदै आएका सम्पूर्ण समूहमा परेको छ भने झिनो अङ्कका साथ यस्ता क्षेत्रमा केही वृद्धि देखिएता पनि गिरावटको प्रक्रिया अझै आरी रहने भन्दै अनेकन् लगानीकर्ता जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ उचित लगानी वातावरणको पर्खाइमा रहेको शेयर कारोबार सङ्ख्यामार्फत प्रस्ट बुझ्न सकिन्छ । 

यसै क्रममा नेप्सेमा कारोबारको अन्तिम दिन बिहीबार ठप ह्रास आएको देख्न सकिन्छ । १९०४.४० अङ्क बाट आइतबार कारोबार सुचारु गरेको नेप्से बिहीबार १८८९.७५ अङ्कमा झर्दै आफ्नो कारोबार अन्त्य गरेको नेप्से विगतको साता भन्दा १५.३५ अङ्कले घटेको छ । 

पुंजिबजारका अन्य परिसूचक सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, सेन्सेटिभ फ्लोट इनडेक्समा केही अङ्कको वृद्धि भएको देख्न सकिएता पनि, लगानीकर्ता माझ यसले अझै लगानीको उचित वातावरण बनेको पुष्टि गर्न सकेको छैन । ३५९.१३ अङ्क बाट सुरुवात गरेको सेन्सेटिभ इन्डेक्स यस हप्ता  ३६१.०९ अङ्कमा सीमित भयो भने, १३१.९४ अङ्क बाट कारोबार सुरु गरेको फ्लोट इन्डेक्स १३२.३६ तथा, ११९.५३ अङ्क रहेको सेन्सेटिभ फ्लोट इनेक्स १२०.४२ अङ्कमा सीमित रहेर बढेको देख्न सकिन्छ । 

यसैगरी नेप्से का अन्य परिसूचक बैंकिंग क्षेत्र १२३६.५६ अङ्कमा सीमित रहँदा ७ अङ्कले वृद्धि भएको देख्न सकिन्छ । ट्रेडिङ्ग क्षेत्र २१०५.०४ अङ्कमा सीमित रहँदा 10 अङ्कको वृद्धि, होटेल तथा पर्यटन क्षेत्र ३५७६. ९४ मा सीमित रहँदा १८ अङ्कको वृद्धि, विकास बैङ्क क्षेत्र ३४६३.७० अङ्कमा सीमित रहँदा ४० अङ्कको वृद्धि, हाइड्रोपावर समूह २४३०.२२ अङ्कमा सीमित रहँदा ३ अङ्क को वृद्धि, फईनान्स समूह १५७७.८२ सीमित रहँदा ५ अङ्कको वृद्धि, नन लाईफ इन्सुरेन्स समूह ८५८९.९२ मा सीमित रहँदा १४ अङ्कको वृद्धि, उत्पादन तथा प्रसोधन समूह ४३५२.५१ सीमित रहँदा १३ अङ्क को वृद्धि, म्युटुअल फण्ड समूह १३.५७ अङ्कमा सीमित रहँदा ०.०९ अङ्कको वृद्धि भएको देख्न सकिन्छ । यस हफ्ता अन्य समूह १३९९.२१ मा सीमित रहँदा ४ अङ्कको गिरावट आएको देख्न सकिन्छ भने  लघुवित्त समूह ३३६२.४५ अङ्कमा सीमित रहँदा १९ अङ्कको गिरावट, जीवन बिमा समूह ९४२७.३६ अङ्कमा सिमित रहँदा ३० अङ्कको गिरावट तथा लगानी समूह ६३.०१ मा सीमित रहँदा ०.०९ अङ्कको गिरावट आएको देख्न सकिन्छ ।        

बजारले जस्तो लय समात्यो उही हिसाबको मनोवृत्ति विकास हुने दोस्रो शेयर बजारमा आज भन्दा एक वर्ष अघि बजार बढ्दै गर्दा कम्पनीका शेयर किन्न तछाडमछाड चल्दै थियो भने, नेप्से ३२०० अङ्क तर्फ लम्किँदै थियो । निश्चितता नरहने शेयर बजार आजका दिनमा १८०० अङ्क तर्फ खस्किएको छ भने  कम्पनीका शेयर खरिद गर्ने लगानीकर्ताको चापमा  पनि  ह्रास आइरहेको छ। 

बजार पसिसकेका लगानीकर्ताहरू शेयरको बजार मूल्य घट्दा होस् या बढ्दा, दुवै अवसरको फाइदा उठाउन सफल भए मात्र उचित प्रतिफल दिने शेयर बजारको प्रकृति रहेता पनि बजार बढ्दा जस्तो फाइदा बजार घट्दा नहुने कारण तथा सीमित लगानीको जोखिम भार न्यूनीकरण गर्न घटेको बजारमा लगानी गर्ने लगानीकर्ता तथा खरिद चाप कम हुने कारण दुबिधामा परेका लगानीकर्ताहरू बिक्री चाप बढाउने गर्छन् र यसको फलस्वरूप बजारमा थप शेयरको मूल्य खस्किँदै जाने गर्दछ । 

यस अर्थमा खरिद र बिक्री चापका आधारमा बजार मूल्य निर्धारण हुने शेयर बजारमा निवेश गर्दा, नयाँ लगानीकर्ताहरूले निम्न कुराहरूलाई ध्यान दिए, लगानी जोखिम न्यूनीकरण गर्न मद्दतगार साबित हुने गरेको पाइएको छ:   

संस्थाको वित्तीय स्थितीको जाँच  

प्राय शेयर खरिद गर्दा या दोस्रो बजार छिर्दा कम्पनीको वित्तीय स्थितिले विशेष प्रभाव पार्ने गर्दछ । कम्पनीको प्रति शेयर आम्दानी अथवा ईपिएस, मूल्य आम्दानी अनुपात अथवा पिई रेसियो, जगेडा कोष अथवा रिजर्व / रिटेन अर्निंग जस्ता कम्पनीका वित्तीय सूचकाङ्कको आधारमा लगानी गर्दा लगानीकर्ताहरूले दोस्रो बजारमा आफ्नो लगानी सुरक्षित राख्न सक्छन् ।   , 

संस्थाको नगद या बोनस लाभांशको विगत केलाउने   

प्राय शेयर खरिद गर्दा संस्थाको विगत केलाउन जरुरी हुन्छ । नयाँ संस्थाहरूले तत्काल लाभांश दिन नसके पनि नेप्सेमा कारोबार गर्दै आएका पुराना कम्पनीहरूले के कति लाभांश दिँदै आएका छन् भन्ने ज्ञानका आधारमा दोस्रो बजारमा निवेश गर्दा लगानी सुरक्षित गर्न सकिन्छ । विभिन्न संस्थाले दिने नगद या बोनस लाभांशले कम्पनीको पकड कति मजबुत या फितलो, तथा लगानीकर्ताले निवेश गरे बापत संस्थाले यस्ता लगानीकर्ताको मनोवृत्ति सुधार्न गरेका प्रयासहरूको प्रक्षेपण गर्न सकिन्छ । यसै गरी लाभांशका किसिम  नगद या बोनस शेयर तथा बर्षेनि लाभांश दिएको या नदिएको हेरेर पनि इच्छा अनुरूप लगानीकर्ताले दोस्रो शेयर बजारमा निवेश गर्न सक्छन्  ।      

संस्थाको व्यापार विवरण हेर्ने   

प्रतिस्पर्धात्मक बजारमा संस्थाको प्रगति विवरण सम्बन्धित सूचाङ्क हेरेर दोस्रो बजारमा निवेश गर्दा दोस्रो बजारका लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सक्छन् । नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोषको आकार, लाभांशको दर जस्ता वित्तीय सूचाङ्कहरुको हिसाब राखेर आफूले इच्छाएको संस्थामा लगानी गर्दा लगानी र लगानीका कारण पर्ने आर्थिक प्रभाव न्यूनीकरण गर्न सकिन्छ । संस्थाको व्यापार बढ्न नसकेको खण्डमा यस्ता बिचारधीन सूचकहरूका आधारमा दोस्रो बजारमा निवेश गर्दा लाग्ने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

संस्थाको शेयर मूल्यको विगत केलाउने 

संस्थाको विगतको शेयर मूल्य मा आएको उतारचढावलाई पनि आधार मानेर दोस्रो बजारमा लगानी गर्न जरुरी हुन्छ । विगत एक वर्षमा के कति मूल्य समायोजन भयो भनेर अनुसन्धान गर्दै आफ्नो जोखिम भार उठाउने क्षमताका आधारमा संस्थाको विगतको उच्च मूल्य तथा अतिकम मूल्य र हालको बजार मूल्यलाई आधार मानेर लगानी गर्दा लगानी सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ भने अन्य कारकका कारण बजारमा प्रभाव पर्दा पनि जोखिमयुक्त लगानीको भार कम गर्न सकिन्छ ।    

भविष्यका घटनाक्रम प्रक्षेपण गर्ने  

शेयर बजारमा संस्थाको आन्तरिक घटनाक्रम बाहेक मुलुक तथा बाह्य घटनाक्रमको प्रभाव पनि उतिकै हुन्छ । उदाहरण स्वरूप अहिले छाएको मन्दीका कारण परेको तरलता अभाव र यसले शेयर बजारमा परेको प्रत्यक्ष/ प्रत्यक्ष प्रभाव, रुस-युक्रेन युद्धका कारण आएको उच्च मुद्रास्फीति जस्ता कारण शेयर कारोबार प्रभावित हुन्छ । यसै कारण शेयर बजारमा निवेश गर्दा यस्ता बाह्य कारकका कारण पर्ने जोखिमका बारेमा पूर्व अनुसन्धान गर्न जरुरी हुन्छ तथा सम्भावित घटनाक्रमको पूर्व प्रक्षेपण गरेर लगानी गर्दा लगानी सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।

नराम्रो ‘पोर्टफोलियो’ भएका कम्पनीमा लगानी नगरेर राम्रा कम्पनीमा लगानी गर्दा आन्तरिक कारण जस्तै राजनीतिक नियुक्ति, इन्साइडर ट्रेडिङ्ग जस्ता प्रभाव भएर उच्च मूल्याङ्कन हुने शेयर मूल्यले लगानीकर्तालाई केही असर नपार्ने गर्दछ  कम्पनीको ‘पर्फमेन्स’ को साटो बजार हल्लाको पछि लाग्ने लगानीकर्ताहरू सधैँ नै मारमा पर्ने हुँदा नयाँ लगानीकर्ताहरूले दोस्रो बजारमा लगानी गर्दा माथि उल्लिखित बुँदाहरूका आधारमा लगानी गरे लगानी जोखिम न्यूनीकरणका साथ शेयर बजारबाट केही प्रतिफल हासिल गर्न सक्ने कुरामा दुई मत रहन्न ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ