arrow

कांग्रेसभित्र रुपान्तरणको मुद्दा पेचिलो बन्दै, विद्रोह गर्नेसम्मको चर्चा   

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
gagan-bishwaprakash-pradip-congress.jpg

काठमाडौं । नेपाली कांग्रेस सच्चिने कि सिद्धिने भन्ने चर्चा चलेको धेरै भएको छ । कांग्रेस नसच्चिएकै कारण उपनिर्वाचनमा यसअघि जितेको तनहुँ १ को सिट पनि गुमेको भन्दै युवाहरु यतिबेला थप जुर्मुराइरहेका छन् । 

कांग्रेस पुरानो ढर्रामा चल्ने हो भने मुलुकले निकास नपाउने र पार्टीप्रतिको आकर्षण पनि घट्दै जाने निष्कर्षसहित पार्टीलाई रुपान्तरणको मुद्दा लिएर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै केन्द्रीय सदस्य प्रदीप पौडेलहरु विद्रोह गर्नेसम्मको नीति लिएर अगाडि बढिरहेका छन् । 

उनीहरुले पार्टीमा आमूल परिवर्तन नभएसम्म अगाडि बढ्न नसकिने निष्कर्षसमेत निकालेका छन् । पार्टी एउटा मोडमा पुगेको भन्दै अब दबाब सिर्जना नगरी नहुने कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए । 

यसअघिदेखि युवाहरु पार्टी रुपान्तरणका लागि नलागेका हैनन् । तर नेतृत्वले सुनेको नसुन्यै गरिरहेको छ । त्यतिमात्र होइन आफूहरुका जायज मागलाईसमेत सम्बोधन नगरेको भन्दै आक्रोश पोखिरहेका छन् । 

गत आइतबारमात्रै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत नै अब कडा कदम नचाली नहुने संकेतसहितको अभिव्यक्ति व्यक्त गरेका थिए । थापाले पार्टीभित्रको अनैतिक गतिले सीमा नाघेको भन्दै अब कडा कदम चाल्ने संकेत गरेका थिए । 

उनले लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

केही दिनअघिको पदाधिकारी बैठक अर्थात् बैशाख २२ गतेको धुम्बाराहीमा बसेको बैठकमा अर्का महामन्त्री शर्मा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमै प्रस्तुत भएका थिए । उनले देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने भन्दै पार्टीमा रुपान्तरण नगर्ने हो भने विदेह गरेरै भए पनि शुद्धीकरण अभियानमा जुट्ने भन्दै आक्रोश पोखेका थिए । 

सभापतिमा पुनः निर्वाचित भएको १७ महिनासम्म पनि पार्टीका विभिन्न समितिले पूर्णता नपाएको, केन्द्रीय समितिको बैठकसमेत नबोलाएको, सदस्यहरुलाई जिम्मेवारी नदिएको भन्दै देउवामाथि आक्रोश पोख्ने क्रममा उनीहरुले आफूहरु थपडी बजाउनका लागि मात्रै पदाधिकारी नभएको बताएका थिए । 

पार्टीका विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्ति लगायतका अधिकार सभापतिलाई दिएको छ । विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभागसमेत गठन गरिएको छैन । सभापतिले विभाग गठन गरिदिएपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्ने हो । त्यतिन्जेलसम्म महामन्त्री जिम्मेवारीविहीन जस्तै भएका छन् । 

देउवाले निर्णय आफैँ गर्छन् । आफू निकटका सीमित पदाधिकारीलाई राखेर निर्णय गरेकाले उनले अहिलेसम्म महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको अवस्था छ । 

सहभागी एक पदाधिकारीका अनुसार महामन्त्रीद्धयले यदि सक्रिय सहभागीता नगराइ अगाडि बढ्ने हो भने आफूहरु आफ्नै हिसाबले अगाडि बढ्ने चुनौती दिएका थिए । 

त्यसको संकेत थापाले सामािजक सञ्जालमार्फत गरिसकेका छन् । शर्मालेसमेत आफू निकटका नेताहरुसँग अब पदबाट राजीनामा नै दिनुपर्ने स्थिति आयो भन्दै त्यसका लागि तयार रहेको संकेत गरिसकेका छन् । 

जबकि स्थानीय तहको निर्वाचनको चुनावी घोषणापत्र गगनले र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणापत्र विश्वप्रकाशले नेतृत्व गरेर बनाएका थिए । तर त्यसको लेखाजोखा पार्टीमा हुँदै भएन । 

यतिसम्मकि पार्टीले सरकारमा पठाउने मन्त्रीहरुका बारेमासमेत देउवाले कुनै छलफल चलाएनन् । देउवाले युवाहरुलाई थप आक्रोशित पार्ने क्रममा प्रतिस्पर्धी समूहलाई पूरै बेवास्ता गरेका छन् । 

महामन्त्री थापाले काँध थापेर साथ दिएका शेखर कोइरालालेसमेत पनि देउवासँग निकटता देखाएर बेवास्ताको शैली अपनाएपछि युवाहरु थप आक्रोशित भएका छन् । 

संस्थापन इतरलाई ४० प्रतिशत भाग दिएर सम्मान गर्न आग्रह गरिरहँदा नौमध्ये दुई वटा मन्त्रालयको जिम्मामात्र संस्थापन इतरले पाएको छ । त्यसमा पनि समावेशी नभएको भन्दै आक्रोश बढ्दो छ । 

अहिले नै मध्ये छ मन्त्रालय आफू निकटकालाई, दुई शेखर पक्षलाई र एक जना राष्ट्रपति रामचन्द्र पौडेल पक्षका समेटिएको छ । युवा भावना नसमेटिएको भन्दै आक्रोश बढ्दो क्रममा छ । 

महामन्त्रीद्वयले मन्त्री छनोट गर्दा पार्टीभित्र समावेशी, क्षेत्रीयता र काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने अडान राखेका थिए । तर देउवाले पूर्वाग्रह राखेरै यी मापदण्डलाई प्राथमिकता दियो भने थापा निकटका सांसद पर्ने भनेर पार्टीको विधान नै मिचे । 

नेतृत्वको सम्भावना बोकेका महामन्त्रीद्धयलाई पूरै बेवास्ता गरेर नेतृत्व अगाडि बढेपछि थप आक्रोश बढाएको थापा निकट एक सांसदले बताए । उनी भन्छन्, ‘आफ्नो पार्टीको बारेमा कुरा काट्नु दुःखद हो । तर यो हाम्रो विवशता भएको छ ।’ 

हुनत पार्टीको १४ औं महाधिवेशनमा देउवाले आफ्नो प्यानलमा नसमेटेपछि विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट महामन्त्री लडे, गगन शेखर कोइराला प्यानलबाट लडे । त्यस्तै प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीमा लडे । यतिबेला भने यी आगामी नेतृत्वका दाबेदारहरु एक ठाउँमा उभिएका छन् । 

अगाडि आफूहरु देखिए पनि आफूहरुको पछाडि धेरै सांसदहरु परिवर्तनका लागि लडिरहेको पौडेल बताउँछन् । आफूहरुले छिट्टै छलफल गरेर आगामी कार्यक्रम कसरी लैजाने भनेर निर्णय गर्ने पनि उनी बताउँछन् । 

जब पदाधिकारीले नै जिम्मेवारी बहन गर्न पाइरहेका छैनन् भने कांग्रेसका साढे आठ लाख क्रियाशील सदस्यहरुको बारेमा देउवालाई सोच्ने फुर्सद नभएको आरोप लाग्दै आएको छ । यिनै क्रियाशील सदस्यलाई जोगाउन पनि युवा नेताहरु रुपान्तरणको मुद्दालाई चर्काउने स्थितिमा छन् । 

केन्द्रीय सदस्य प्रदीप पौडेलसँग गरिएको छोटो कुराकानी–
रुपान्तरणको मुद्दा आक्रामक बन्दै गइरहेको हो ? 
रुपान्तरणको कुरा निरन्तर भइ नै रहेको छ । हाम्रो पार्टी एउटा मोडमा पुगेको छ । आफूलाई विभिन्न पक्षहरुमा रुपान्तरण गर्न जरुरी छ । खासगरी हामीले लामो समयसम्म एउटै कुरा उठायौँ । जुन कुरा पार्टीले लागू गर्नुपर्ने थियो त्यो कुरा कार्यान्वयन हुन सकेन । खाली उठाउनेमात्र सन्दर्भ बन्यो । हामीले विशेष गरी स्थानीय चुनावमा जे खालको परिस्थिति भोग्यौँ त्यसबाट जनताको हाम्राप्रतिको प्रश्न के हो ? हामीले के गर्नुपर्छ भनेर भनेका हुन् । यो कुरालाई समीक्षा गर्न आवश्यक छ । कांग्रेसप्रतिका समर्थक शुभेच्छुक, मतदाताले नेपाली कांग्रेस यथास्थितिबाट अगाडि जाँदा वितृष्णा बढ्ने संकेत गरेको स्थिति छ । त्यसकारणले नेपाली कांग्रेसले आफूलाई रुपान्तरण गर्नुपर्छ, सच्याउनु पर्छ । केही आन्तरिक विषयहरु छन्, केही कांग्रेससँग जोडिएका बाह्य विषयहरु छन् । ती विषयहरुमा कांग्रेसले आफूलाई प्रष्टाएर अगाडि लिएर जानुपर्छ । आन्तरिक संगठन सुदृढीकरणको कुरा, आम पार्टीका साथीहरुलाई अवसर दिने विषय, पार्टीको संगठनलाई मजबुद बनाएर व्यवस्थित गर्ने विषय, त्यसपछि पार्टीले राष्ट्रिय एजेन्डाका रुपमा प्रस्तुत गर्ने विषय, सुशासनका सन्दर्भमा पार्टीले दिने प्रतिबद्धतायी सवालहरुमा चाहिँ हामीले नेतृत्व तह स्पष्ट हुनुपर्छ, अहिलेको परिस्थितिलाई यी सन्दर्भमा बदल्न सक्नुपर्छ भनेर हामीले निरन्तर आग्रह गरिरहेको स्थिति हो । अब आग्रहमा सीमित रहेर सम्भव नहुने देखेर अब विभिन्न ढङ्गबाट आन्तरिक रुपमा दबाब सिर्जना गर्ने परिस्थितिलाई संकेत गरिएको जस्तो लाग्न लागेको छ । 

महामन्त्रीद्धय र तपाईजस्ता युवाहरु एकैठाउँमा उभिएर सशक्त भएर खडा भएको संकेत दिनुभएको हो ? 
पक्कै पनि । हामीमात्रै छैनौँ । धेरै साथीहरु रुपान्तरणको पक्षमा हुनुहुन्छ । करेक्सन हुनुपर्छ, यो शैलीले अगाडि बढ्न सकिन्न भन्ने कुरामा धेरै सहमत हुनुहुन्छ । ती साथीहरुसँग पनि ऐक्यबद्धता गरेर संगठित बनाएर अगाडि जाने सोच हो । 

सभापतिले पार्टीलाई रुपान्तरण गर्न नमाने के गर्नुहुन्छ ? 
देशहरुकै साथीहरुले पर्खिने, धैर्यता राख्ने, ठीकै हो विस्तारै हुन्छ भनेर मान्ने स्थिति छैन । यी धेरै अगाडिदेखि उठाइएका विषय हुन् । यी कुरामा मात्र सीमित छन् । कार्यान्वयन हुने स्थिति बनेन । त्यसो भएको कारणले चाहिँ पार्टी नेतृत्वलाई महसुस गर्ने गरी दबाब सिर्जना गर्नुको विकल्प छैन । 

विद्रोह गर्ने भन्नेसम्मको चर्चा पनि सुनिन्छ नि ? 
देशहरुकै साथीहरुले पर्खिने, धैर्यता राख्ने, ठीकै हो विस्तारै हुन्छ भनेर मान्ने स्थिति छैन । यी धेरै अगाडिदेखि उठाइएका विषय हुन् । यी कुरामा मात्र सीमित छन् । कार्यान्वयन हुने स्थिति बनेन । त्यसो भएको कारणले चाहिँ पार्टी नेतृत्वलाई महसुस गर्ने गरी दबाब सिर्जना गर्नुको विकल्प छैन । 

सभापतिले नमाने राजीनामा दिएरै विद्रोह गर्ने भन्ने हो त ? 
अहिले नै त्यो अवस्थामा पुगेको त हैन । तर हामीले चाहिँ कुनै न कुनै ढङ्गले दबाब सिर्जना गर्न सक्नुपर्छ भन्ने टुङ्गोमा चाहिँ पुगेका छौँ । 
के तयारी गर्दै हुनुहुन्छ त ? 
हामी छलफलमा बस्दैछौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ