arrow

सम्पादकीय

अस्वस्थ्य पेयमा प्रतिबन्ध कि उच्च कर ?  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
unhealthy-juices-market.jpg

बजारमा अस्वस्थ्यकर पेय पदार्थको बिगबिगी छ । फलफूलको जुसदेखि लिएर कोल्ड ड्रिंग्स अनि इनर्जी ड्रिंक्स कुनै पनि स्वास्थ्यका लागि फाइदाजनक छैनन् । जनस्वास्थ्यविद्हरु यसलाई केबल पानीमा अत्यधिक चिनी घोलेर विभिन्न रसायन र स्वादको फ्लेभर राखेर बनाइएकाले शरीरलाई हानिकारक झोलको रुपमा चित्रण गर्छन् । 

जनस्वास्थ्यकर्मीहरुले नै सम्बन्धित निकायलाई झक्झक्याउँदासमेत कुनै सुनुवाइ नभएको गुनासो गर्छन् । यस्ता पेय पदार्थले पुर्याउने असरबारे सम्बन्धित निकाय गम्भीर नभइदिँदा बिरामी त झन् थला पर्छन् नै बालबालिकादेखि युवायुवतीसम्म र वृद्धवृद्धालाई थप अस्वस्थ्य बनाइरहेको छ ।  

‘स्लो पइजन’ का रुपमा लिइने यस्ता पेय पदार्थहरु अतिथि सत्कारका लागि जुनसुकै कार्यमा राख्ने गरिएको हुन्छ । त्यतिमात्र होइन आकर्षक र झुठा विज्ञापनका कारणले बालबालिकाहरु सहजै आकर्षित हुने गरेका छन् । 

तर यसको सेवनले स्वास्थ्यमा पुर्याउने क्षतिबारे भने अभिभावक कमैमात्र जानकार छन् । या त आधुनिकीकरणको चक्करमा त्यसको असर भुलिरहेका छन् । यसलाई नशाको रुपमासमेत लिन थालिएको छ । 

शुरुआतमा विस्तारै पिउने र त्यसपछि बानी पर्दै गएपछि जस्तोसुकै अवस्थामा पनि त्यसको सेवन नगरी नहुने नशाको अवस्थामा पेयको रसायनले पुर्याइदिन्छ । सामाजिक रोगकै रुपमा हाम्रो संस्कारभित्र पुगेको यसकै कारण बालबालिकाहरु कलिलो उमेरमै मधुमेह रोगको शिकार भइरहेका छन् । त्यस्तै मोटोपनसँगै हृदयरोग र दाँतका रोगीहरु बढेका छन् । मिर्गौला, कलेजो र आँखाका रोगीमा पनि वृद्दि भइरहेको छ ।

यसलाई सरकारले नदेखेजस्तो गर्न मिल्दै मिल्दैन । सरकारको पहिलो प्राथमिकतामा नागरिकको स्वास्थ्य हुनुपर्छ । त्यसैले अस्वस्थ्यकर कुनै पनि पेय पदार्थहरु बिक्री वितरण गरिनु हुन्न । बिक्री गर्ने नै हो भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड उल्लंघन गर्नु हुँदैन । 

यस्तो पेय पदार्थको खोलमा स्वास्थ्यका लागि हानिकारक छ लेखेर तस्बिरसहित राखिनुपर्छ । त्यतिमात्र हैन यो अस्वस्थ्यकर पेय पदार्थको करको दर उच्च बनाउनु पर्छ । 

भिटामिन, प्रोटिन, फाइबर या कुनै पनि आवश्यक तत्व नभएको त्यो पेयमा उच्च दरको कर लगाएर सरकारले फलफूल, गेडागेडी, दूध लगायतमा सहुलियत दिनुपर्छ । 

अब सरकारसँग एउटै विकल्प छ कि त यस्ता पेयको बिक्रीमा प्रतिबन्ध लगाओस् हैन भने उच्च कर लगाओस् । 

सम्बन्धित यी सामग्री पनि पढौं–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ