arrow

चिनीपानीको अस्वस्थ्य झोल छ्याप्छयाप्ति, सरकारलाई बन्द गराउने कि सावधानी राखेर कर बढाउने विकल्प

logo
सोम पोखरेल, निश्चलराज दवाडी
प्रकाशित २०८० जेठ १ सोमबार
soft-drinks-poison.jpg

काठमाडौं । अहिले बजारमा चिनीको अस्वस्थ्य झोल बजारमा छ्याप्छयाप्ति पाइन्छ । चिनीको अस्वस्थ्य झोल भनेको त्यस्ता पेय पदार्थहरुमा हुन्छ जुन बजारमा विभिन्न जुसका प्याकेटदेखि फ्रुटीसम्म, कोकाकोला, पेप्सीदेखि विभिन्न रंगीबिरङ्गी  लगायतका पेय पदार्थमा हुन्छ । 

यतिसम्मकि बिरामीलाई पिउन मिल्ने जुसका प्याकेट पनि फ्लेभर मिसाएर पानीमा चिनी घोलेरै तयार गरिएको हुन्छ । त्यसले फाइदा पुर्याउनुको सट्टा कयौँ बेफाइदा गर्छ । 

इनर्जी ड्रिंकका लागि बनाइएका पेय पदार्थमा पनि चिनी–पानीको प्रयोग नै भएको हुन्छ । तर यसले पुर्याउने असरबारे सम्बन्धित निकाय गम्भीर नभइदिँदा बालबालिकादेखि युवायुवतीसम्म र वृद्धवृद्धा र बिरामीलाईसमेत थप असर परिरहेको छ । 

कतिपय जनस्वास्थ्यविज्ञ त यसलाई ‘स्लो पइजन’ का रुपमा यसलाई लिने गर्दछन् । त्यही अस्वस्थ्य झोल खान नेपालीहरु लालायित हुन्छन् । यसमा युवाको संख्या त उल्लेख्य छ नै आकर्षक विज्ञापनले आकर्षित भएका बालबालिकाहरु पनि त्यो पिउन नपाए झगडै गर्छन् । 

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे नेपालीहरुको संस्कृतिमा आएको परिवर्तनका कारण पनि यस्ता अस्वस्थ्यकर पेय पदार्थहरु सबैको प्यारो बनेको बताउँछन् । शहरमा मात्र होइन गाउँमा पनि पानी, मही र दहीको सट्टा कोल्ड ड्रिंग्सबाटै सत्कार गरेको प्रसङ्ग सुनाउँदै डा. पाण्डेले यस्तो पेय अतिथि सत्कारको चलन नै बनेको बताउँछन् । 

डा. पाण्डे भन्छन्, ‘यो व्यक्तिगत रोगबाट शुरु भएर एक किसिमको सामाजिक रोग भइसकेको छ । हाम्रा विभिन्न संस्कारहरुमा यसको प्रयोग गर्नैै पर्ने भएको छ । यो त नशा नै भएको छ । सबैमा लत लागेको छ । यसलाई निरुत्साहित गर्नुपर्छ । यस्ता पेयको ठाउँमा पानी, मही, दही खान सकिन्छ ।’

त्यस्तै जनस्वास्थ्यविद् अरुणा उप्रेती यसबारेमा प्रायः ज्ञान बाँड्दै हिँड्छिन् । विद्यालयदेखि अस्पतालसम्म पनि पुग्छिन् । सम्बन्धित निकायलाई पनि भन्छिन् । तर कसैको कानमा बतास पस्दैन । 

उनी भन्छिन्, ‘हामी भन्छौँ, उनीहरु सुन्छन्, केही पनि गर्दैनन् । कहिल्यै पनि केही पनि जवाफ दिँदैनन् । कहिल्यै पनि केही पनि बोल्दै बोल्दैनन् ।’

उनका अनुसार विद्यालयमा भने जंकफुड नबाँड्ने भनेर नीति बनाइएको छ । उनी अगाडि भन्छिन्, ‘विद्यालयमा जंकफुड नबाँड्ने भनेका छन् । नीति बनाएका छन् । तर त्यो नीति चाहिँ कार्यान्वयन भएको छैन । सबै जनाले खुवाइ नै राखेका छन् स्कुलहरुमा ।’

हुनत अस्पताल वरिपरि, विद्यालय वरिपरि जंक फुड, त्यस्ता पेय पदार्थ, मदिरा राख्न नपाइने भन्ने छ तर त्यो पनि पालना नभएको जनस्वास्थ्यविद् उप्रेतीको भनाइ छ । 

उनी भन्छिन्, ‘विद्यालयको १०० मिटर वरिपरि रक्सी बेच्न हुँदैन भन्नेछ । तर त्यो समेत लागू भएको पाइँदैन ।’ 

उप्रेती यस्ता पेय पदार्थहरु केही पनि खान नहुनेमा जोड दिन्छिन् । भन्छिन् यसको प्रयोगको सट्टा फलफूल नै खानुस् है ।’ 

उनी भन्छिन्, ‘हाम्रो खानामा चिनीको प्रभाव बढ्दैछ । चिनी पश्चिमी समाजबाट भित्रिएको र खाद्य वस्तुहरूमा धेरै प्रयोग भइरहेको सामग्री हो । यसले नेपालीहरूको स्वास्थ्यमा कडा चुनौती दिएको छ । किनभने यो नेपालीहरूको धेरै रोगहरूको कारक भएको छ ।

आजकल बिरामीलाई भेट्न जाँदा पनि ताजा फलफूलको सट्टा जुस लगिदिने चलन छ । त्यही जुस खाएर त्यो बिरामीको स्वास्थ्य झनै बिग्रिएको हामीले चालसमेत पाउँदैनौँ । 

सरकारले स्वास्थ्य क्षेत्रमा एक त कम लगानी गरेको छ त्यसमा पनि सम्बन्धित निकायले यस्ता बिमार निम्त्याउने पेय पदार्थको प्रयोग खुलेआम गर्न दिएर अझ बढी बिरामी बढाउन अवसर दिएको छ । 

कस्तो छ यसको नेपालमा प्रयोग ?
नेपालमा त यसको लत नै छ भन्दा पनि फरक पर्दैन । सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार लगभग ५० प्रतिशत नेपाली किशोर किशोरीहरूले दिनमा कम्तीमा एक पटक चिनीयुक्त यही अस्वस्थ्य पेय पदार्थ सेवन गर्ने पाइएको छ । त्यसमा पनि शहरी क्षेत्रका किशोर–किशोरीहरूमा चिनीयुक्त पेय पदार्थको खपत उच्च रहेको पाइएको छ । 

यो प्रवृत्ति विकसित हुनुको मूल श्रेय आहारको ढाँचामा परिवर्तन र डिस्पोजेबल आम्दानीमा वृद्धि रहेको पाइएको छ । 

चिनीयुक्त यस्ता पेय पदार्थहरूमा पाइने उच्च क्यालोरी तथा उच्च चिनीको मात्राले गर्दा यस्ता पेय पदार्थका अत्यधिक सेवनले मोटोपना र मधुमेह जस्ता रोगको जोखिम बढाउने तथा यस्ता पेय पदार्थमा न्यून पोषण हुने कारण समग्र स्वास्थ्य स्थितिमा खराबी गर्ने पाइएको छ ।  

नेपालमा बढ्दो मात्रामा रहेको चिनीयुक्त पेय पदार्थको खपतका कारण जनस्वास्थ्यमा विशेष प्रभाव पार्ने हुँदा यो प्रमुख चिन्ताको विषय बन्दै गएको छ । यस्ता पेय पदार्थको खपतले मोटोपना, मधुमेह, हृदय रोग र दाँत क्षय जस्ता स्वास्थ्य समस्याहरूबाट बालबालिकादेखि किशोरकिशोरीहरू ग्रसित हुने गरेका छन् । 

स्वास्थ्यमा समस्या
नेपालमा हालैका वर्षहरूमा मधुमेह रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको अवस्था छ भने जनस्वास्थ्य चिन्ताको विषय बनेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासङ्घको सन् २०१९ को रिपोर्ट अनुसार नेपालमा करिब १८ लाख वयस्कहरूलाई मधुमेह रहेको छ । 

चिनीयुक्त पेय पदार्थको सेवनले यस्ता रोग विकास गर्न प्रमुख भूमिका खेल्ने भन्दै यस्ता पेय पदार्थमा रहेको उच्च क्यालोरीले धेरै तथा न्यून–पोषणयुक्त तत्त्वले तौल बढाउने र अन्य स्वास्थ्य समस्या निम्त्याउने अध्ययन गरिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईएफडी) को तथ्याङ्कको आधारमा नेपालमा मोटोपना, मधुमेह र हृदयरोगका बिरामीहरु अनियन्त्रित शैलीमा बढेका छन् । 

जसमा मोटोपनालाई हेर्दा डब्ल्यूएचओका अनुसार मोटोपनाको प्रकोप पुरुषमा ५.५ प्रतिशत तथा महिलामा ७.५ प्रतिशत रहेको छ । मधुमेह, हृदय रोग र क्यान्सरका केही रूपहरू सहित धेरै पुरानो रोगहरूका लागि मोटोपना एक प्रमुख जोखिम कारकको रूपमा मानिन्छ भने चिनीयुक्त पेय पदार्थको सेवनले यस्ता रोग विकास गर्न प्रमुख भूमिका खेल्ने गरेको पाइएको छ ।

त्यस्तै आईडीएफका अनुसार १८ लाख युवामा मधुमेह छ । मिर्गौला नाश गर्ने, अन्धोपना निम्त्याउने र अङ्गछेद जस्ता गम्भीर स्वास्थ्य जटिलताहरू निम्त्याउने एक प्रमुख कारकका रूपमा मधुमेहलाई लिइन्छ ।

साथै डब्ल्यूएचओका अनुसार नेपालमा मृत्युको प्रमुख कारण हृदय रोग रहेको र यसले कुल मृत्यु हुने संख्याको करिब २७ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धूमपान र खराब आहारका कारण हुने हृदय रोग उच्च क्यालोरी युक्त पदार्थले गर्ने हुँदा चिनीयुक्त यस्ता पेय पदार्थले यस्ता जोखिम थप गर्ने मान्यता चली आएको छ ।

के गरिरहेछ सरकार ? 
सरकारको नीति नियम बुझिनसक्नुको छ । रोग लाग्न नदिन भन्दा पनि सरकारले रोग पनि लाग्न दिने र उपचारको पनि व्यवस्था गर्ने योजनातिर लाग्दैछ । 

सरकारले यस्ता अस्वस्थ्यकर पेय पदार्थ रोक्न सक्दैन । अनि यसलाई पनि वृद्धि गर्दै जाने र अस्पतालको संख्या पनि बढाउनतिर लागेको छ । 

त्यसकै कारण नेपालमा नसर्ने रोगहरूको वृद्धिदर बढ्दै गएको छ । चिनीयुक्त पेय पदार्थको उपभोगलाई निरुत्साहित गर्न तथा यस्ता पेय पदार्थले ल्याउने स्वास्थ्य समस्यालाई सम्बोधन गर्नसरकारले चिनी युक्त पेय पदार्थमा सन् २०१९ बाट कर लगाउन शुरु गरेको थियो । 

तर त्यो कर भने अवैध र अस्वस्थ्य त्यस्ता चिनी–पानी झोल बेच्ने वैधानिक लाइसेन्स बनेजस्तो भएको छ । यो कर यति न्यून छ कि जसले न त सरकारलाई कुनै फाइदा छ न त जनतालाई नै । 

अहिले पनि जेठ १५ गते बजेट सार्वजनिक हुँदै गर्दा यस्ता पेय पदार्थमा लागेको कर नबढाउन चलखेल भइरहेको पाइएको छ । 

तर यो चलखेल भने रोकिनु पर्छ । जुन पेय पदार्थ अस्वस्थ्य र नपिउन आग्रह गर्दागर्दै पनि नशाजस्तै बनेको छ भने त्यसमा राजस्व दर उच्च राखिनु पर्छ । 

कि बन्द कि स्वास्थ्य सावधानी राखेर कर बढाऔँ 
सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य हुनुपर्छ । त्यसैले अस्वस्थ्यकर कुनै पनि पेय पदार्थहरु बिक्री वितरण गरिनु हुन्न । बिक्री गर्ने नै हो भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड उल्लंघन गर्नु हुँदैन । 

त्यसपछि भने जब त्यो चिनी–पानीको झोलले फाइदा गर्दैन र असर गर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि उपभोक्ता सजग हुँदैनन् भने करको दायरा कसिलो पार्नुपर्छ । 

करको दर उच्च पार्ने हो भने यसको प्रयोगमा केही कमी आउने अपेक्षा गर्न सकिन्छ । 

हुनत अहिलेसम्म कसैले पनि महँगो भएर चुरोट छाडियो भनेर सुनिएको छैन । महँगो भएर मदिरा पिउन छाँडे भनेर सुनिएको छैन । 

सुनिएको छ त चुरोटले स्वास्थ्य राम्रो गरेन त्यसैले छाडेँ । या मदिराले कलेजो खायो डाक्टरको सल्लाहअनुसार पिउनै छाडेँ भन्ने वाक्यहरु सुनिन्छन् । 

सरकारलाई विकल्प के भने अबको दुई सातामा बजेट सार्वजनिक गर्दै गर्दा यस्ता पेय पदार्थमा जतिसक्यो बढी कर लगाएर त्यसबाट उठेको रकम बालबालिकाको स्वास्थ्यमै खर्च गर्ने दृढता राख्ने हो भने उदाहरणीय बन्न सक्छ । 

डा. पाण्डे पनि कर उच्च गरेर जसरी चुरोटको बट्टाको बाहिरपट्टि स्वास्थ्यका लागि हानिकारक भएको तस्बिर राखेर बिक्रीका लागि राखिन्छ त्यसरी नै यस्ता पेय पदार्थमा पनि स्वास्थ्यका लागि हानिकारक भएको तस्बिर राखेर बिक्रीका लागि सीमित स्थानमा राख्नुपर्नेमा जोड दिन्छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ