- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोही पाहुना आउँदा बच्चाहरुलाई केही ल्याइदिँदाखेरी जंकफुडदेखि विभिन्न किसिमका जुसहरु ल्याइदिने चलन छ । ती जुसहरुको व्यापक रुपमा विज्ञापन गरिएको हुन्छ । मानौँ त्यो जुस खाइसकेपछि शरीरमा एकदमै तागत लाग्छ भन्ने हिसाबले प्रस्तुत गरिएको हुन्छ ।
नेपालमा हामीले पाउने त्यो खालका जुसहरु स्वच्छ पनि हुँदैनन् र स्वस्थ्य पनि हुँदैनन् । कतिपय जुसमा लेदो पदार्थ, कीरा परेको देखिएको छ । त्यो बच्चाले खाए भने ‘फुड पइजनिङ’ हुन्छ । सिधै असर पर्ने नै भयो ।
मुख्य भनेको कोल्ड ड्रिंग्सहरु हामीले विभिन्न पार्टीहरुमा भएको छ । यतिसम्म कि गाउँघरमा पनि पहिले पानी, मही टकार्ने चलन थियो भने अहिले चाहिँ कोल्ड ड्रिंग्स टकार्ने चलन बढेको छ ।
ती कम्पनीहरुले स्वाद र बास्नाका लागि कृत्रिम रसायनहरु राखेका हुन्छन् । ती कृत्रिम रसायनहरुले गर्दा त्यसको लत लाग्ने ‘एडिक्सन’ बनाइदिन्छ । जसले नियमित यसको सेवन गर्छ भने लामो समयसम्म खाँदा त्यसमा लत लाग्ने हुन्छ । त्यो नखाइ उसलाई छटपटि लाग्ने देखिन्छ ।
सुगर भएका पदार्थहरु प्रायः सबै नै लत लाग्ने किसिमको हुन्छ र कोल्ड ड्रिंग्सहरुमा त विज्ञापन र स्वाद बास्नाका लागि प्रयोग भएको कृत्रिम रसायनले लत लाग्ने एउटा समस्या देखिन्छ ।
समस्या के हो ?
यसको मुख्य समस्या भनेको सफ्ट ड्रिंग्सहरुले मधुमेह (डाइबिटिज) गराउँछ । किनभने त्यसमा डाइरेक्ट ग्लुकोज हुन्छ । र हाइ क्यालोरी हुन्छ । हामीले खाने एउटा कोल्ड ड्रिंग्सको सानो बोतलमा १५ चम्चा बराबर चिनीमात्रै परेको हुन्छ ।
मधुमेह भइसकेपछि त्यसको असर आँखामा, मिर्गौलामा, मुटुमा, नसाहरुमा पार्छ । दोस्रो भनेको तौल बढ्ने हो । अहिलेका हाम्रा बच्चाहरु हेर्यो भने अधिकांश बच्चाहरुको तौल बढी देखिन्छ ।
तौल बढ्नका लागि पनि यी सफ्ट ड्रिंग्सहरु प्रमुख कारण हुन् । यसमा चिनीको मात्रा एकदम बढी हुने तर अरु क्यालोरी नहुने । त्यसले गर्दा बच्चाको स्वास्थ्य राम्रो नहुने तर तौल एकदमै बढ्ने भइरहेको छ ।
तौल बढेपछि हुने विभिन्न किसिमका समस्याहरु मधुमेह, थाइराइडको समस्या ब्यापक देखिएको छ । तौल बढेपछि कलेजो सुन्निने समस्या पनि देखिन्छ ।
अहिले बालबालिकाको सानो उमेरमै पेट लागेको (बढेको) देखिन्छ । किनभने सुगर पेटको वरिपरि जम्छ र पेट बढ्ने समस्या देखिन्छ । त्यसमा ग्यास हुन्छ । कार्बनको बबलका फोकाहरु हुन्छन् । यसले गर्दा ग्यासट्राइटिस (ग्यास्ट्रिक) गराउने, असजिलो महसुस गराउने खालको लक्षण देखिन्छ ।
चौथो भनेको दाँतमा एकदमै असहज हुन्छ । कोल्ड डिंग्समा जुन एसिड हुन्छ त्यो एकदमै कडा हुन्छ । फस्फोरिक एसिड र कार्बोनिक एसिड हुने भएकाले तिनमा उच्चतहको एसिटिक वातावरण हुन्छ । त्यसले दाँतको इनामेल खिइने, दाँत मक्किने, कुहिने खालको समस्या आउँछ । त्यसैगरी गुलियोमा ब्याक्टेरियाहरु एकदमै राम्रोसँग फैलिने मौका पाउने भएकाले दाँतमा बढी नै असर पर्छ ।
अर्को बाथ र जोर्नीका समस्याहरु पनि यस्ता पेय पदार्थहरुले निम्त्याउँछन् । यसले युरिक एसिड बढाउँछ जसले बाथ रोग र जोर्नीको समस्या देखिन्छ । अहिले संसारमै टाउको दुखाइको समस्या भनेको ‘फ्याटी लिभर’ (कलेजोमा बोसो जम्ने) समस्या आएको छ । यो कोल्ड ड्रिंग्समा हुने ग्लुकोज र फ्लुक्टोजले गर्दा हो । कलेजोमा बोसो जमेपछि कलेजोको कार्यक्षमतामा कमी आउने हुन्छ ।
अर्को समस्या भनेको यस्ता किसिमका पेय पदार्थमा कुनै पनि पोषण तत्व हुँदैन । फाइबर, प्रोटिन, मिनिरल, भिटामिन केही हुँदैन । सुगर (चिनी) मात्रै हुन्छ । त्यसले गर्दा खाएको हुन्छ तर उसमा कुनै पनि किसिमको शक्ति प्राप्त हुँदैन । उसको शरीरमा विभिन्न किसिमका पोषण तत्वको अभाव भएर कुपोषण हुन सक्छ ।
कोल्ड ड्रिंग्सलाई शुरुमा तीर्खा मेट्नका लागि खाने गर्छन् । तर त्यसले झन् बढी डिहाइड्रेसन गर्छ । पानीको मात्रा कम गर्ने, छाला सुख्खा हुने, डन्डिफोर आउने खालको समस्या देखिन्छ ।
यो बाहेक पनि विभिन्न किसिमका मानसिक उतारचढावहरु हुने हुन्छ । बालबालिकालाई त्यो अप्राकृतिक जुस खुवाउँदा वास्तविक फलफूलको जुस दिएको जस्तो लागेर तागत दिएको भ्रम हुन्छ ।
यो व्यक्तिगत रोगबाट शुरु भएर एक किसिमको सामाजिक रोग भइसकेको छ । हाम्रा विभिन्न संस्कारहरुमा यसको प्रयोग गर्नैै पर्ने भएको छ ।
के गर्दा समस्या समाधान हुन सक्छ ?
यसको विज्ञापनमा समस्या छ । जसरी चुरोटको खोलमा स्वास्थ्यका लागि हानिकारक छ भनेर सरकारले राख्नैपर्ने प्रावधान गरेको छ त्यस्तै यसमा पनि स्वास्थ्यका लागि हानिकारक छ भनेर राख्ने प्रावधान गर्नुपर्छ ।
विज्ञापनमा पनि जे तत्व छ त्यही बारेमा विज्ञापन गर्न पाउने गर्नुपर्छ । यो नभइनहुने चिज होइन । त्यसैले सरकारले यसमा उच्च कर लगाउन सक्छ ।
सरकारले राहत दिनका लागि फलफूल, गेडागेडी, दूध, अण्डा जुन दैनिकीमा प्रयोग हुन्छ त्यसमा सहुलियत दिएर यी शरीरलाई काम नलाग्ने तर अर्बौंको ब्यापार भएका यस्ता चिजमा नियमन गर्नका लागि र यसलाई निरुत्साहित गर्नका लागि उच्च कर लगाउनु पर्छ ।
यसलाई जहाँ पनि जसले पनि किन्न नपाउने खालको बनाउन पर्यो । यो सीमित ठाउँमा मात्र पाइने र सरकारले यसको विज्ञापन गर्दाखेरी पनि के गर्ने र के नगर्ने भनी एउटा आचारसंहिता बनायो भने हामीले पक्कै पनि पूर्णरुपले निरुत्साहित गर्न नसके पनि विस्तारै गर्न सकिन्छ ।
यसको सट्टा हामीले दही, मही खान सक्छौँ । विभिन्न फलफूल खान सक्छौँ । ती कुराहरु जनचेतनाका लागि पनि सरकारले योजनाहरु बनाउन पर्छ । विद्यालयका पाठ्यक्रममै पनि यो खालको समस्याबारे उनीहरुलाई बच्चैदेखि जानकारी गराउनु पर्ने हुन्छ ।
अभिभावकहरुले पनि बच्चाहरुलाई नखुवाउने, कहिँ जाँदा पनि यस्ता कुराहरु लिएर नजाने गर्दा पनि जनस्तरबाट केही नियन्त्रण गर्न सकिन्छ । (जनस्वास्थ्यविद् पाण्डेसँग गरिएको कुराकानीका आधारमा)