arrow

केपी ओली भन्छन् –नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिदैन, फिर्ता नलिए छक्का हानेर पठाइदिन्छौं 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-oli-2080-02-07a.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन् । 

अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गरे । 

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरुले पनि यसलाई स्वीकार गर्न नहुने बताए । 

अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकिर गरे । 

उनले भने, ‘एक वर्षको समय फेरि खेर जाने भयो । २ वर्षमा यो गर्ने भनिएको छ । तर एक वर्षको नीति तथा कार्यक्रम छ । २ वर्षमा यसो गर्छौ भनिएको छ । एक वर्षको पेश गर्नुस्न । २ वर्षमा केही गर्छौं भने यस वर्ष के गर्नु हुन्छ त ? बिना टार्गेट, कहाँ शुरु, कहाँ अन्त्य ? कहाँ जान हिँड्या ? केही ठेगान छैन । हामो गन्तव्य समृद्ध नेपालः सुखी नेपाली हो । मेरो जीवनको एकमात्र लक्ष्य नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने हो । यस अभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको साथ, समर्थन र सहयोग हुने विश्वास पनि मैले लिएको छु ।’

ओलीले अगाडि भने, ‘सभामुख महोदय, मैले यति समय लिएर प्रस्तुत नीति तथा कार्यक्रमको सम्बन्धमा भने । यसको अर्थ हो–यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन । जनताका समस्या समाधान यसले गर्न सक्दैन ।’

यसलाई थप स्पष्ट पार्दै ओलीले भने, ‘ त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिँदैन । र, हामी समर्थन गर्दैनौं । म आग्रह गर्न चाहन्छु–मैले यति समय लिएर ब्याख्या गर्नुको अर्थ के हो भने म अरु पार्टीहरुलाई पनि देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्न चाहन्छु ।’

उनले यो कार्यक्रमले एक वर्ष बरबाद पारेको उल्लेख गर्दै भने, ‘यस नीति, कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको । यो नीति, कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन । त्यसकारण यसलाई समर्थन नगर्न म अरु दलका माननीयज्यूहरु, स्वतन्त्र माननीयज्यूहरु सबैलाई पनि आग्रह गर्न चाहन्छु । यसलाई पारित गर्नु हुँदैन । यो पारित गर्न योग्य छैन । जसले देशलाई बाटो देखाउँदैन, देशलाई समस्याबाट उम्काउँदैन । जसले देशलाई अगाडि बढाउन कुनै सोच नै राखेको छैन । त्यस्ता नीति, कार्यक्रमको नाउका पोथाहरुमाथि हामी छलफल गरिरहेका छौं । त्यही बोकेर जानुपर्ने अवस्था नआओस् ।’

अर्को नीति तथा कार्यक्रम बनाउन आग्रह गर्दै उनले भने, ‘म जिम्मेवार प्रधानमन्त्रीज्यू आफैंलाई भन्न चाहन्छु–त्यसकारण यसलाई फिर्ता लिइयोस्, अर्को बनाइयोस् । यसवापत कुनै पोलिटिकल एजेण्डा नबनाउला बरु । उपयुक्त नीति, कार्यक्रम बनाउनुस् । तर यही कार्यक्रम पारित गर्ने हो भने नेपाली कांग्रेस यस्तै कार्यक्रमबाट अगाडि जान्छ ? यही हो, नेपाली कांग्रेसले देशप्रति गर्ने प्रतिवद्धता । ५–७ वटा मन्त्री भए पुग्यो नेपाली कांग्रेसलाई ? देशप्रतिको उत्तरदायित्व छैन ? त्यसकारण कसैले पनि यसलाई, यसको पक्षमा टेवल ठटाउन कसरी सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ यसलाई ? तसर्थ, म सबैलाई आग्रह गर्न चाहन्छु–यसलाई कुनै पनि हालतमा समर्थन गर्नु हुँदैन । समर्थन नगरौं । पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का [क्रिकेटकाे भाषा] हानेर पठाइदिनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने बताए । उनले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने रहेको पनि दोहोर्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ