arrow

आईपीएलको दोस्रो क्वालिफायरमा मुम्बई–गुजरात भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
ipl-mumbai-indians-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायर आज हुँदैछ । क्वालिफायरमा पाँच पटकको विजेता मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटान्सबीच खेल हुँदैछ । 

खेल बेलुकी ७ः४५ बजे नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । 

बुधबार राति भएको प्लेअफको इलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टसमाथि ८१ रनको फराकिलो जित हासिल गर्दै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो । 

त्यस्तै गुजरात टाइटान्स पहिलो क्वालिफायरबाट पराजित भएको हो । चेन्नई सुपर किंग्ससँग पराजित हुँदै गुजरातले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो । फाइनल आइतबार हुनेछ । 

मुम्बईले १३ पटक प्लेअफ खेल जितिसकेको छ । दश पटक मुम्बई प्लेअफमा पुगेको हो । उसले प्लेअफमा खेलेका १९ खेलमध्ये १३ खेल जित्दा ६ मा हारको सामना गरेको छ । 

गुजरात भने दोस्रो पटक प्लेअफमा पुगेको हो । गत वर्ष पहिलो सिजन खेलेकै गुजरात च्याम्पियन भएको थियो । 

मुम्बईका लागि सूर्यकुमार यादव १५ खेलमा ५४४ रन, क्यामरुन ग्रिन १५ खेलमा ४२२ रन तथा पियुष चावला १५ खेलमा २१ विकेट महत्वपूर्ण खेलाडीका रुपमा रहेका छन् । 

त्यस्तै गुजरातका राशिद खान, नुर अहमद, डेभिड मिलर, दासुन शनाका र अल्जारी जोसेफ सशत्तः हुने सम्भावना छ । कप्तान हार्दिक पाण्डेया आफैँ सशक्त अलराउन्डर हुन् । 

राशिदले १५ खेलबाट २५ विकेट, मोहम्मद शमीले १५ खेलमा २६ विकेट लिएका छन् भने शुबमन गिलले १५ खेलमा सर्वाधिक ७२२ रन बनाएका छन् । उनले २ शतक र चार अर्धशतक बनाएका छन् । 

मुम्बईले अहिलेसम्म ३ मा दुई क्वालिफायर जितेको छ । गुजरात भने गत सिजन क्वालिफायर र फाइनल खेलेर जितेको थियो । 

यसपटक पहिलो क्वालिफायर हारेको छ । यता मुम्बई–गुजरात पहिलो पटक प्लेअफमा आमने सामने हुँदैछन् । 

अहिलेसम्म आपसमा भएका भिडन्तमा मुम्बईले २ तथा गुजरातले एक पटक जितेको छ । 

लिग चरणको अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।   

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो । 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ