arrow

सीडेनको महाधिवेशनमा लक्ष्मण केसी समूहका सात प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
laxman-kc-sedan.jpg

काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडेन) सातौँ केन्द्रीय कार्यकारिणी र दोस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनका लागि इन्जिनियर लक्ष्मण केसी नेतृत्वको समूहले सात प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  

शनिबार काठमाडौं लगायतका देशका विभिन्न स्थानमा हुने नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडेन) को यस निर्वाचनका लागि पेशामा अब्बल तथा युवा इन्जिनियरहरुले केसी नेतृत्वको समूहलाई अगाडि सारेको केन्द्रीय सदस्यका उम्मेदवार जगदीश नेपालले जानकारी दिए ।

केसी नेतृत्वको समूहले लोकतन्त्रप्रति प्रतिबद्ध इन्जिनियरहरुबीचको सहकार्य एवं समन्वय अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय समितिहरुमा सीडेनको विधान बमोजिम अधिकार प्रत्यायोजन गरी सबै तहमा लोकतान्त्रिक इन्जिनियरहरुको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ । 

त्यसैगरी समावेशी प्रतिनिधित्वको मुद्दालाई विधान संशोधन गरेर सम्बोधन गर्ने, सल्लाहकार समिति तथा विभिन्न विभागहरु चलायमान बनाउने, वरिष्ठ र कनिष्ठ इन्जिनियरहरुबीच ज्ञान र अनुभवको स्थानान्तरणको लागि मेन्टरशिप, इन्जिनियर्स मिट जस्ता कार्यक्रमहरु गर्ने अठोट पनि केसी समूहले गरेको छ ।  

सरकार एवं पार्टीलाई विभिन्न इन्जिनियरिङ्ग विधामा तथ्यमा आधारित नीति निर्माण र विषयगत प्राविधिक दृष्टिकोण बनाउन सुझाव एव पृष्ठपोषण दिने, राष्ट्रिय प्राविधिक मुद्दाहरुमा संस्थागत र आधिकारिक दृष्टिकोण स्थापित गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन, प्रदेश स्तरका सेमिनारहरु र विभिन्न प्राविधिक कार्यक्रमहरु आयोजना गर्ने योजना पनि केसी समूहले बनाएको छ । 

डिजिटल सीडेनको अवधारणा कार्यान्वयन गर्दै नियमित कार्यालय संचालनको सुनिश्चितताको लागि पूर्णकालीन आईटी स्टाफको व्यवस्था गर्दै डिजिटल इन्जिनियर हेल्प डेक्स स्थापना गर्ने र सीडेनको अर्को चुनाव विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गराउने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
 
“ग्रामीण तथा शहरी क्षेत्रमा कार्यरत इन्जिनियरहरुमार्फत आम जनचाहना र समस्याहरुलाई सम्बोधन गर्न संस्थागत इन्जिनियरिङ समाधानका लागि राजनीतिक संगठनहरु, विभिन्न इन्जिनियरिङ समाजहरुमार्फत नेपाल सरकारलाई नीति निर्माणमा समावेश गर्न पैरवी गर्नेछौ” प्रतिबद्धता पत्रमा लेखिएको छ । 

आफ्नो समूहलाई निर्वाचित भएमा आफूहरुले सीडेनलाई सुद्दिढ गराउँदै नेपाली कांग्रेसको रुपान्तरणको भभियानमा पनि योगदान दिने र इन्जिनियरिंग ज्ञान मार्फत नेपालको विकासमा टेवा पुर्याउने अध्यक्षमा उम्मेदवार लक्ष्मण केसीले अठोट व्यक्त गरे । 

केसीको समूहबाट उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने, कोषाध्यक्षमा नवराज बस्नेत र बागमती प्रदेश सभापतिमा नरकान्त सापकोटाले उम्मेदवारी दिएका छन् । 

केन्द्रीय सदस्यहरुमा भने जगदीश नेपाल, ईश्वर अर्याल, सन्दीप वाग्ले, नविन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाई, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, सुसान्त भुजेल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थीले उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ