arrow

राष्ट्रसंघले कालोसूचीमा राखेको चिनियाँ कम्पनीबाट सेनाले किन्दै एपीसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
nepal-army-apc-chinese-company.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्नका लागि प्रतीतपत्र (एलसी) खोल्ने निर्णय गरे पनि त्यो सफल हुन सकेको छैन । 

संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको चिनियाँ कम्पनीबाट सामान गरिद गर्नका लागि एलसी खोल्न हिमालयन बैकलाई पत्राचार गरेको थियो । तर बैकले त्यसलाई अस्वीकार गरेको छ । 

सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपीसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्याउदै एलसी खोल्ने तयारी गरेको हो । 

‘हतियार खरिदका लागि एलसी खोल्ने तयारी भएको थियो, केही दिनअघि नै एलसी खोल्न कुनै एक बैकमा पुगेको भन्ने जानकारी थियो, तर त्यहाँ खुलेन अर्को बैकलाई आग्रह गरिएको छ भन्ने सुन्नमा आएको छ’, सैनिक मुख्यालय स्रोतले भन्यो । 

कालोसूचीमा परेको कम्पनीबाट सामान ल्याउन एलसी खोलिदिँदा केन्द्रीय बैंकले कारबाही गर्ने त्रासका कारण हिमालय बैंकले एलसी नखोलेको स्रोतको दावी छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेका थिए । उनी विषयलाई टुंग्याएर मात्रै भारत जान लागेका छन् । ‘यसमा प्रधानमन्त्री र रक्षामन्त्री दुवैको रुची छ’, स्रोतले भन्यो । 

प्रधानमन्त्री र रक्षामन्त्रीको रुची भएपछि नेपाली सेनाले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईबीएल)सँग हतियार खरिदका लागि लेटर अफ क्रेडिट (एलसी) खोल्न नयाँ पहल थालेको छ । 

चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) राष्ट्र संघ र  अमेरिकाको कालोसूचीमा परेको कम्पनी हो र हालै हिमालयन बैंकले अमेरिकी प्रतिबन्धको सम्भावित उल्लङ्घनको आधारमा एलसी खोल्न अस्वीकार गरेपछि एनआईबीलसँग नयाँ पहल थालेको हो । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनबाट २६ वटा एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो । 

सो निर्णयलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएपछि खरिदका लागि अन्तिम तयारी भएको छ । 

स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सीक्यू राइफलसमेत खरिद गर्ने भएको छ । बिचौली एवं व्यापारी लोकेन्द्र कार्कीमार्फत ती सामग्री खरिद गर्न लागेको हो । 

कार्की पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका सहोदर भाइ हुन् । चीनबाट सैन्य सामग्री खरिदको तारतम्य मिलाउने पनि उनै व्यापारी कार्की हुन् । उनले नै नेपाली सेनाका उच्च अधिकारीलाई चीन भ्रमणसमेत गराइसकेका छन् । 

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ । 

जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको थियो । कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपीसी किन्ने भएको छ । भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपीसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ । 

भारतबाट ल्याउन लागिएका एपीसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपीसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ । 

‘चिनियाँ कम्पनीले सामान खरिद गरेवापत सहज ढंगले कमिशन पठाइदिने भएकाले पनि सेनाले ती सामान ल्याउन चिनिया कम्पनी रोजेको हो’, स्रोतले भन्यो । 

सेनाले संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको कम्पनी चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) मार्फत ती सामग्री खरिद गर्न लागेपछि सेनाभित्रै विवाद भए पनि यसलाई बाहिर ल्याउन चाहेको छैन । 

भारतमा करिब ४ करोड रूपैयाँ पर्ने एपीसीको मूल्य चीनले ७ करोड ७५ लाख रूपैयाँ तय गरेको छ । सैनिक स्रोतका अनुसार खरिद गर्न लागिएको एपीसीको अनुगमन, निरीक्षण गर्न एउटा टोली चीन पुगेर आइसकेको छ । 

नोरिन्को कम्पनीले उत्पादन गर्ने एपीसीको गुणस्तर कमजोर मानिएको छ । सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो । 

चीनबाट खरिद गरिएको गुणस्तर कमजोर भएको एपिसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको दाबी स्रोतको छ । 

सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धा बिनै हतियार खरिद गर्न लागेको हो । सैन्य सामग्री खरिद प्रक्रिया जीटूजी अन्तर्गत हुने दाबी सेनाको छ ।  

सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ ।  

चीनबाट सामान आउने भएपछि नेपाली प्रतिनिधिका रूपमा व्यापारी कार्कीका ‘एसम्यान’ राजकुमार नाइडू नामका व्यापारी त्यसको एजेन्ट रहेका छन् । एजेन्ट तय गर्नकै लागि नोरिन्कोको प्रतिनिधिमण्डल दुईपटक काठमाडौं आएर सेनालाई सामान पठाउन राजी भएको थियो । 

स्रोतका अनुसार चीनबाट एकैपटक ठुलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गरी व्यापारी  कार्कीमार्फत हतियार ल्याउन लागिएको हो । 

नाइडू उनै कार्कीका एसम्यान हुन् । व्यापारी कार्कीले तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको समयमा पनि बिना प्रतिस्पर्धा धेरै मूल्यमा कोरियाबाट केटु हतियार ल्याएका थिए । 

सो हतियारमा समस्या देखिएको थियो । कार्कीले तत्कालीन प्रधानसेनापति थापाकै नातेदारसमेत रहेका राजन रायमाझीलाई अघोषित साझेदार बनाएर हतियार ल्याएका थिए । 

थापाका पालामा सेनाले कोरियाली कम्पनी डेउ प्रिसिजन इन्डस्ट्रिजबाट डेढ अर्ब रूपैयाँ बराबरका हतियार खरिद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ