- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जान लागेको पूर्व सन्ध्यामा भएको एक कार्यक्रममा कम्युनिष्ट पार्टीका नेताहरुमाथि आक्रमण प्रयास गरिएको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा आक्रमण प्रयास भएको हो । भारतले हालै प्रकाशित गरेको नक्सामा नेपालको भूमि समेटिएको र त्यसको बारेमा प्रधानमन्त्रीले भारतसँग जानकारी लिनुपर्ने तथा प्रधानमन्त्रीले भ्रमणका बेला उठाउनु पर्ने विषयवस्तुबारे छलफल गर्न आयोजित कार्यक्रममा उनीमाथि आक्रमण प्रयास भएको हो ।
कम्युनिष्ट नेता साध्यबहादुर भण्डारीले मंगलबार अनामनगरमा राखेको त्यो कार्यक्रममा राजावादीहरु घुसपैठ भएको जनाइएको छ । भारतले नेपालका भूभाग समेटेर बनाएको नक्साको विरोध गर्न तथा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा निम्त्याइएका थिए झलनाथ खनालमाथि आक्रमण प्रयास हुँदा सुरक्षा गार्डलाई समेत जोगाउन हम्मेहम्मे परेको थियो ।
त्यस क्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसरको कार्यालय, नेपाल पुलिस क्लबमा राखेको छ ।
मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका थिए । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गर्दै आक्रमण प्रयास गरेका हुन् ।
कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल र पूर्व गभर्नर डा. दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।
पक्राउ पर्नेमा सन्तोष राजावादीसहित ९ जना छन् । पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए । नेताहरुलाई ‘दलाल’ को आरोप लगाएका उनीहरुले मुलुकको सम्वृद्धिका लागी ‘पूर्व राजाले वार्ता गर्ने’ बताएका थिए ।
यो विषयमा नेकपा समाजवादीका नेताहरुले तीव्र विरोध गरेका छन् । उनीहरुले नेताहरुमाथि आक्रमण भए ठाउँका ठाउँ प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
समाजवदाी पार्टीको युवा संघले त नेताहरुमाथि आक्रमण भए देशभर प्रतिकारमा उत्रने चेतावनी दिएको छ । उसले विज्ञप्तिसमेत जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसदमा नेपाली भूमि अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरुको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा छदमभेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड–मुसुण्ड हरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौँ ।’
आम जनसमुदायलाई व्यवस्था र आन्दोलनको रक्षार्थ ढृदताका साथ उभिनका लागि आह्वान गर्दै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदायमा यस्ता हर्कत तत्काल बन्द नगरे देशभर शसक्त प्रतिकारमा उत्रन समेत हार्दिक आह्वान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।