arrow

काठमाडौंमा यो वर्षकै सर्वाधिक गर्मी, अन्य क्षेत्रमा घट्दै गयो, मौसम बदली हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
hot-days (3).jpg

काठमाडौं । मुलुकभर गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । गर्मीमा हुने रोगसमेत बढ्दै गइरहेको पाइएको छ । तराईका जिल्लामा उच्च तापक्रमले गर्दा लू नै चलिरहेको छ । 

लूका कारण उच्च तापक्रम भएका अधिकांश जिल्लामा विद्यालयहरु बन्द गरिएका छन् । तराईमा गत साताको शुक्रबारदेखि नै लू लागिरहेको हो । यो क्रम अझै दुई दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही स्थानमा फाटफुट वर्षा भएको छ । जिरी, लुम्ले, जुम्ला लगायतका केही स्थानमा वर्षा भएको हो । 

शनिबार काठमाडौं उपत्यकामा तापक्रम बढेको छ भने अन्य क्षेत्रमा घट्दै गएको छ । शनिबार सबैभन्दा बढी भैरहवामा ४१.२ डिग्री सेल्सियस तापक्रम रहेको छ । शुक्रबार भने ४२.५ डिग्री रहेको थियो । शुक्रबार ४२.५ डिग्री रहेको जनकपुरमा घटेर ३८.४ पुगेको छ । 

नेपालगञ्जमा ४०.८, धनगढीमा ४०.६, सिमरामा ४०.५, वीरेन्द्रनगरमा ३९.४, विराटनगरमा ३५.३ र धरानमा ३५.३ डिग्री रहेको छ । 

न्यूनतम तापक्रममा पनि घटबढ भएको छ । भैरहवामा बढेर २८.८ डिग्री पुगेको छ भने जनकपुरमा २८.२, सिमरामा २७.६, धरानमा २६, नेपालगञ्जमा २७.५ डिग्री रहेको छ । 
शनिबार सबैभन्दा बढी नवलपुरमै रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार नवलपुरमै सबैभन्दा बढी ४३ डिग्री देखिएको छ । जबकि शुक्रबार ४४ डिग्री मापन गरिएको थियो । 

उपत्यकामा यो वर्षकै बढी गर्मी 
काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । शनिबार ३३.३ डिग्री मापन गरिएको हो । मौसमविद् कँडेलले यसअघि यो वर्ष गत बिहीबार (जुन ८ तारिख) सबैभन्दा बढी ३२.८ डिग्री मापन गरिएको बताइन् । 

काठमाडौंमा अहिलेसम्म सबैभन्दा बढी ३५.२ डिग्री सबैभन्दा बढी मापन गरिएको छ । उक्त सबैभन्दा बढी गर्मी सन् २०१२ को जुनमा मापन गरिएको थियो । 

मौसमविद् कँडेलले शनिबारदेखि नै मौसम बदली हुँदै गएको बताइन् । उनले पूर्वबाट यसको प्रभाव देखिन थालेको भन्दै विराटनगरमा तापक्रम घट्दै गएको जानकारी दिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ