arrow

नेकपा ब्युँताउने कसरत, कम्युनिष्ट घटकहरु सशंकित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
oli-prachanda-madhav-jhalanath.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पछिल्लो पटक माओवादीसहितको समाजवादी केन्द्र बनाउन लागिपरेका नेताहरु अहिले पुरानो नेकपा ब्युँताउन तयार रहेको बताउन थालेका छन् । एक पटक असफल भैसकेको नेकपालाई ब्युँताउनका लागि कम्युनिष्ट नेताहरु लागि परेका हुन् । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा औपचारिक रुपमा विघठन भएपछि अहिले एमाले र माओवादी पुरानै अस्तित्वमा फर्केका छन् । 

एमाले भने विभाजित अवस्थामा रहेको छ । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका छन् । त्यसकै अध्यक्ष रहेका नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका हुन् । 

शनिबार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए । 

उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने नेकपा ब्युँताउन तयार रहेको बताए ।  

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाउँदै तत्कालीन नेकपा व्युँताउनु पर्ने प्रस्ताव गरेका हुन् । 

उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

 ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन,’ उनले भने । 

समाजवादी मोर्चा बनाउने विषयमा शुक्रबार साँझमात्र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव  विप्लवसहितका नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । 

छलफलका लागि विप्लव धुलिखेलमा सञ्चालित पार्टीको प्रशिक्षण कार्यक्रम सकेर काठमाडौं आएका थिए । समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा उनलाई बताइएको थियो । 

शान्ति प्रक्रियाका कतिपय मुद्दा टुंगिन बाँकी रहेको र  त्यही भएर आफूहरु समाजवादी मोर्चा बनाउने निष्कर्षमा पुगेको नेताहरुको दाबी थियो । 

यस क्रममा केही पूर्वमाओवादी घटकबीच त एकता नै गर्ने तयारीसमेत थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजन भएर अहिले ७–८ वटा दल बनेकाले एकता गर्ने तयारी भएको थियो । 

तर यही बेला माधव नेपालले पुरानो नेकपा ब्युँँताउने विषय निकालेपछि नेताहरु सशंकित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ