arrow

काठमाडौंको न्यूनतम तापक्रम नै उच्च, बाहिर घट्दै, मौसम बदली  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
weather-sunday-terai.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हाल देशमा  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिएको छ । 

कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी भूभागका  एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेशका थोरै स्थानहरूका तथा बागमती र गण्डकी प्रदेशहरुका पहाडी भूभागका एक(दुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका जिल्लाहरुमा उच्च तापक्रमले गर्दा अझै लू नै चलिरहेको छ । लूका कारण उच्च तापक्रम भएका अधिकांश जिल्लामा विद्यालयहरु बन्द गरिएका छन् । 

तराईमा गत साताको शुक्रबारदेखि नै लू लागिरहेको हो । तर विस्तारै तापक्रम घट्दै गएकाले केही जिल्लामा विद्यालय खुल्न थालेका छन् । 

आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम घटेको भए पनि न्यूनतम तापक्रम बढेपछि भने जनजीवन थप कष्टकर भएको छ । 

आइतबार पनि सबैभन्दा बढी तापक्रम नवलपुरमै मापन गरिएको छ । नवलपुरमा शुक्रबार सबैभन्दा बढी ४४ डिग्री भएको भए पनि अहिले भने ४२ डिग्रीमा झरेको छ । 

त्यसपछि नेपालगञ्जमा बढेको छ । पूर्वमा मौसम बदली हुँदा तापक्रम पनि घटेको छ भने विस्तारै पश्चिम हुँदै प्रिमनसुन देशैभर फैलने छ । अहिले मध्यपश्चिम र सुदूरपश्चिममा गर्मी बढेको छ । 

त्यस्तै धनगढीमा ४०.४, भैरहवामा ४०.४, जनकपुरमा ४०.४, सिमरामा ३९.५,  डिग्री सेल्सियस तापक्रम रहेको छ । घोराहीमा ३८, विराटनगरमा ३८, धरानमा ३६.९ तथा पोखरामा ३४.४ डिग्री रहेको छ । 

न्यूनतम तापक्रममा सबैभन्दा बढी भैरहवामा ३० डिग्री पुगेको छ । जनकपुरमा २८.२, सिमरामा २७.५ तथा धनगढीमा र घोराहीमा २६.५ डिग्री रहेको छ । 

उपत्यकामा न्यूनतम तापक्रम नै बढी
काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको थियो । शनिबार ३३.३ डिग्री मापन गरिएको थियो । 

काठमाडौंमा अहिलेसम्म सबैभन्दा बढी ३५.२ डिग्री सबैभन्दा बढी मापन गरिएको छ । उक्त सबैभन्दा बढी गर्मी सन् २०१२ को जुनमा मापन गरिएको थियो । 

तर आइतबार भने घटेर ३२.२ डिग्रीमा झरेको छ । तर न्यूनतम तापक्रम भने बढेर २१.५ डिग्री पुगेको छ । न्यूनतम तापक्रम भने यो अहिलेसम्मकै उच्च हुन सक्छ । 

लुम्ले, ताप्लेजुङ, ओखलढुङ्गा, दिपालय लगायतका क्षेत्रमा वर्षा भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ