arrow

व्याँस गाउँपालिकाले चार किल्लासहितको आफ्नो भौगोलिक सीमा माग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
byash-gaupalika.JPG

दार्चुला । भारत र चीन सँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिकाले नेपाल सरकारसँग चार किल्लासहितको आफ्नो भौगोलिक सीमा छुट्याउन माग गर्ने जनाएको छ । सोमवार जिल्ला सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारसँग चार किल्लासहितको आफ्नो भौगोलिक सीमा छुट्याउन माग गर्ने जनाइएको हो । 

सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा लिपुलेक, लिम्पियाधूरा र कालापानीलाई समावेश गरेको भए पनि गाउँपालिकाको समग्र सीमा कति हो भनेर माग गरिने गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले बताए । 

पत्रकार सम्मेलनमा गाउँपालिकाको तर्फबाट आधिकारिक धारणा प्रस्तुत गर्दै प्रवक्ता धामीले सरकारलाई व्याँसको जिरो पोइन्ट सीमा बारे माग गर्ने बताए । 

त्यस्तै व्याँस गाउँपालिकाले कार्यपालिका बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।व्याँस गाउँपालिकाले पहिलो पटक चीन सीमा क्षेत्रको बिकट गाउँ तिंकरमा कार्यपालिका बैठक राखी विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले पत्रकार सम्मेलनमार्फत बताए । 

उनका अनुसार तिंकरमा बसेको कार्यपालिका बैठकले तिंकरमा गुणस्तरीय सञ्चार सेवाका लागि तत्कालै नेपाल टेलिकमको थ्री जी सेवा सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय भएको छ । यस्तै कोरोना कालदेखि बन्द चीनसँगको नाका तिंकर (ताक्लाकोट) नाका सञ्चालनका लागि पहल गर्ने, छाङरु र बुदि र कौवामा बिओपी स्थापनाका लागि पहल गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय घरेलु मदिरालाई ब्राण्डसहित वैधानिकताको प्रक्रिया थाल्ने लगायतका निर्णय भएको उनले बताए । 

कार्यपालिका बैठकले व्याँसमा अभाव हुने खाद्यान्नको आपूर्तिका लागि खाद्य कार्यालयसँग सहकार्य गरी ढुवानीको व्यवस्था गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीका लागि खाद्यान्नको बन्दोवस्तीका लागि पनि सरकारलाई आग्रह गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराए । व्याँसमा असारको पूर्णिमाको दिन छिरिङछ्याङ क्षेत्रमा घोडे दौड (जात्रा) आयोजना गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ