arrow

सरकार ढाल्ने खेलमा एमाले !

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ता गठबन्धनमा केही गडबढी आएको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न कोसिस गर्न थालेको छ । साना दलहरुले संसदमा सरकारको विरोध गर्दा उनीहरुको  समर्थन गरेर होस् वा संसद बाहिरबाट कांगेसको अन्तर्विरोधमा खेलेर होस् एमालेले वर्तमान सरकार ढाल्ने कोसिस गर्न थालेको हो ।  

संसदमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको एमालेले वर्तमान सरकारकै घटक मध्येबाट त्यसको विकल्प हुने गरी प्रयास थालेको प्रचार विभाग प्रमुखले समेत खुला रुपमा अभिव्यक्ति दिएका छन् ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारको विकल्प खोज्ने क्रममा एमाले मुकदर्शक भएर नबस्ने बताएर सरकार परिवर्तनको खेलमा एमाले लागेको उद्घोष गरेका हुन् । सरकारको विकल्प खोज्नेबारे एमालेको औपचारिक धारणा बाहिर नआएको बेला प्रचार विभाग प्रमुख गौतमले अहिलेको अवस्थामा सरकार कुनै पनि राम्रो काम गर्न नसक्दा विकल्पको बारेमा सोच्न सकिने भन्दै थ्रेट गरेका थिए । 

शुक्रबार मात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्न एमाले लागिपरेको भन्दै सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली यो खेलमा रहेको अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति र एमाले प्रचार विभागका प्रमुखको अभिव्यक्ति संयोग मात्र परेको होइन भन्ने शंका गर्न सकिन्छ । 
‘सरकार नलायक छ, जवाफदेहीविहीन छ, जनताले सरकारको महसुस नगरेपछि विकल्पमा जान सकिन्छ भन्ने छलफल स्वभाविक छ, सत्तारुढभित्र बजेट असन्तुष्टि छ । विकल्पमा जानुपर्ने जनतामा प्रश्न उठेको छ’, प्रचार विभाग प्रमुख गौतमले भने । 

उनको त्यस किसिमको अभिव्यक्तिलाई पुष्टि गर्ने गरी माधव नेपालले ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन नचाहेका बताएका थिए । ‘अहिले पनि के चाहेको छ भने केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौँ भनिरहेका छन् । कस्तो बिडम्बना, त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला ? जुन कम्युनिष्ट पार्टीका नेताले कम्युनिष्ट प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर दलाल पूँजीवादी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेका छन्,’ ओली लक्षित नेपालको टिप्पणी थियो । 

तर राजेन्द्र गौतमले भने नयाँ सरकार बनाउने मुख्य एजेण्डा एमालेको नभए पनि सरकार परिवर्तन हुने संभावनालाई नकार्न नसकिने बताएका थिए । ‘मिसन ०८४ मा ५१ प्लस ल्याएर सरकार बनाउने हो तर सरकार नचल्ने स्थितिमा एमाले टुलुटुलु हेरेर बस्दैन मोर्चाको बहुआयामिक प्रभाव छ । कांग्रेसलाई थ्रेट गर्न यो मोर्चा बनेको हो, बाबुराम छुट्ने कुरामा नि अन्तरविरोध छ । कांग्रेसभित्र विभिन्न विकल्पमा छलफल भएपछि मोर्चा बनाइएको र  शक्ति क्षीण, सरकारभित्र खटपट भएकोले बनेको अवस्थामा एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले  यसको विभिन्न विकल्पमा मुलुकले छलफल शुरु गर्यो भने विकल्पबारे एमाले मौन बस्दैन’ गौतमले भने ।
 
बजेट पास गर्ने अन्तिम समय आइसक्दा र अर्थ मन्त्रालय बजेट कार्यान्वयनका लागि तयारी थाल्दा सत्ता गठबन्धन मात्र होइन कांग्रेसकै कतिपय सांसदहरुले बजेटको विरोध गरिरहेको अवस्थामा एमाले पनि सरकारलाई अप्ठेरो पार्ने गरी धारणा सार्वजनिक गरेको छ ।  

अर्थमन्त्रीले गोरखा, डडेलधुरा, नुवाकोट जस्ता केही सीमित जिल्लालाई मात्र बजेट र योजना पारेको भन्दै सांसदहरुले विरोध गरेका हुन् । तर अर्थमन्त्रीले बजेट कार्यक्रमहरु परिवर्तन गर्न कुनै चासो दिएका छैनन् । 

यस्तो अवस्थमा एमालेले सरकार परिवर्तन गर्न कांग्रेसलाई सहयोग गर्ने र सरकार बनाउँदा कांग्रेस नेतृत्वलाई समर्थन गरेर आफू बाहिर बस्ने विकल्प रहेको छ । एमालेका सचेतक महेश बर्तौलाले पनि एमालेले चाहेका खण्डमा एक साताभित्र प्रचण्ड नेतृत्वको सरकार ढाल्न सक्ने चेतावनी दिएका छन् । उनले पार्टीले अहिले सरकार परिवर्तनको खेल नथालेको तर आवश्यक परे एक साताभित्रै सरकार ढाल्न सक्ने दाबी गरेका हुन् । केपी ओलीको योजना बिना नै बर्तौलाले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया पक्कै नदिएको विश्लेषणसमेत भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ