arrow

बङ्गुरसँग रमाउँदै वडाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
bangur-wad.JPG

स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउछन् । कुँडो पाक्दै गर्दा उनी बङ्गुरको लिदी सफा गर्न थाल्छन् । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउछन् । 

सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउछन् । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उनको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उन कार्यालयतिर हानिन्छन् । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन् ।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक रू १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ । 

“एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्”, सिंजालीले भने, “बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।” उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताउनुभयो ।

“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, सिंजालीले भने, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।” गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ ।

सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन् । “उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ”, उनले भनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ