arrow

श्रीलंका विश्वकपमा छनोट, वेष्ट इन्डिज बाहिरियो, नेपालको प्लेअफ फाइनल आयरल्याण्डसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
cricket-srilanka-2023-07-03.jpg

काठमाडौँ । श्रीलंका भारतमा आयोजना हुने विश्वकप एक दिवसीय क्रिकेटका लागि छानिएको छ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा आयोजक टिमलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छानिएको हो । 

विश्वकप छनोटको शीर्ष दुईमा रहने टिम विश्वकपमा छानिने भएकामा शीर्ष स्थानमा रहँदै श्रीलंका छानिएको हो । बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बाब्वेले दिएको १६६ रनको झिनो लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । 

श्रीलंकाका लागि पथुम निसंकाले १०२ बलमा १४ चौकाको सहयोगमा अविजित १०१ रनको शतकीय इनिङ्स खेले । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३२.२ ओभरमा १६५ रनमा अलआउट भयो । सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ्स खेले । सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए । 

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए । पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए । जितसँगै श्रीलंका ८ अंकका साथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ । 

जिम्बाब्वे ६ अंकसहित दोस्रो तथा स्कटल्याण्ड ४ अंकसहित तेस्रो स्थानमा छ । २ अंकको नेदरल्याण्ड्स २ खेल अगावै बाहिरइसकेको छ । त्यस्तै एक खेलअघि नै अंकरहित वेष्ट इन्डिज र ओमान बाहिरिएका छन् । 

वेष्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । उसले सन् १९७५ को पहिलो र सन् १९७९ को दोस्रो संस्करण जितेको थियो । 

समूह एबाट जिम्बाब्वे, नेदराल्याण्ड्स र वेष्ट इन्डिज सुपर सिक्समा जाँदा २ अंकको नेपाल र अंकविहीन अमेरिका भने बाहिरिएका थिए । 

त्यस्तै समूह बीबाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुग्दा आयरल्याण्ड र यूएई बाहिरिएका थिए । 

प्लेअफ फाइनलमा अर्थात् सातौँ स्थानका लागि मंगलबार नेपाल र आयरल्याण्ड भिड्दै छन् । 

नेपालले प्लेअफको सेमिफाइनलमा यूएईलाई ३ विकेटले हरायो ।

आयरल्याण्डले अमेरिकालाई हरायो । 

नवौँ स्थानका लागि यूएई र अमेरिका खेल्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ