arrow

नेपाल एसीसी यू–१६ क्रिकेटको फाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
cricket-nepal-singapore-u16.jpg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो । 

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । रोशन रविचन्द्रनले २४ रन बनाएको इनिङ्समा नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो ।

ओपनर सुर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाए । नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए । निरजले ४२ रन बनाए । 

कप्तान अभिषेक तिवारीले २५ तथा सन्तोष यादवले १८ रन बनाए । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २–२ विकेट लिए ।

नेपालले अब मंगलबार हुने फाइनलमा उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाले सेमिफाइनलमा हङकङलाई हराएको थियो । 

मंगलबार नै तेस्रो स्थानका लागि सिंगापुर र हङकङ खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ