arrow

एमालेले राष्ट्रिय सभा चल्न दिएन, प्रचण्डको राजीनामा बटम लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । दिउँसो १ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरु उभिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने आसयको भनाइ राखेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक सांसदहरुलाई बस्न आग्रह गरे पनि उनीहरु निरन्तर उभिइरहेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई बोलाएर वास्तविकता भन्न लगाउने वचन दिए पनि सांसदहरुले नमान्दा बैठक अवरुद्ध भएको हो । 

उनले सदन पनि अगाडि बढाउने र वार्ताको वातावरण पनि बनाउने भन्दै बजेटका विषयमा छलफल चलाउन आग्रह गरे पनि एमाले सांसदहरु उभिइरहे । 

एमालेका सांसदहरुले समय समयमा मोबाइलसमेत बजाएका थिए । अध्यक्ष तिमिल्सिनाले मोबाइल नबजाउन आग्रह गरेपछि समाधान भएको थियो । 

एमाले सांसदहरु नबसेपछि अध्यक्ष तिमिल्सिनाले बैठक शुक्रबार दिउँसो १२ः२९ बजे बस्ने गरी स्थगित गरेका छन् । 

हिजो पनि सदन अवरुद्ध भएको थियो । प्रतिनिधि सभाको बैठकसमेत अवरुद्ध भएको थियो । प्रतिनिधि सभा भोलि बस्दैछ । 

के भनेका थिए प्रचण्डले ?
प्रचण्डले सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैँले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रितम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरेका थिए । 

सो क्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन मेहनत गरेको प्रसङ्ग पनि उठाएका थिए । उनले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ ।’

उनको यो भनाइले भने नेपालमा प्रधानमन्त्री बन्न भारतको दिल्ली नै जानुपर्छ भन्ने अर्थ लाग्न आउँछ । 

तर प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार एमालेले निकालेको यो बखेडा मात्रै हो । उनले प्रधानमन्त्री प्रचण्डले सिंहको जीवनीको पुस्तकबारे आफूसँग जोडिएका विषय समेट्ने क्रममा पहिलेका कुरा सम्झँदै प्रचण्डलाई शान्ति प्रक्रियामा आउनु पर्छ, देशको प्रधानमन्त्री बन्नुपर्छ भनेर भनेको र त्यही विषयलाई प्रचण्डले कार्यक्रममा सुनाएको उल्लेख गरे । 

पहिलेको प्रसङ्गलाई अहिलेको प्रसङ्ग बनाएर विषयायन्तर गर्न खोजिएको पनि उनले उल्लेख गरे । 

एमालेले अब प्रधानमन्त्रीले संसदमै गएर जवाफ दिनुपर्ने गरी विरोध गर्ने बालुवाटारले बुझेको छ । सोही कारण प्रचण्डले संसदमै गएर यो विषयलाई स्पष्ट पार्ने तरखरसमेत गरिएको बालुवाटार स्रोतले बताएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने प्रधानमन्त्री जवाफदेही हुने भएकाले संसदमा गएर जहिले पनि जवाफ दिने बताए । 

सत्ता गठबन्धनको बैठकले पनि प्रचण्डले यस सम्बन्धमा संसदमा स्पष्टीकरण दिने निर्णय गरिसकेको छ । 

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डले स्पष्टीकरण नभइ राजीरामा दिनुपर्ने बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ