arrow

भोलि बिहानै धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
dhauli-ganga.JPG

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार सिल्ट सरसफाइको काम गरिने भएकाले बाँध मंगलवार (भोलि) बिहान ५ बजेदेखि राती ८ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनले आग्रह गरेको छ ।
दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन भनिएको हो ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेला सरसफाइ गर्ने गरिएको छ । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको विद्युत् उत्पादन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ