- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।
यसअघि सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगी नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।
डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगी संक्रमण देखिएको उल्लेख गरे ।
उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगी संक्रमण देखिएको छ ।’
मरासिनीले डेंगीको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए ।
सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए ।
लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिले पनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ ।
सामान्यतया डेंगी वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगी संक्रमण पुष्टि भए यता लगातार बढिरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगीबाट संक्रमित भएका थिए ।
डेंगी संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको बताए ।
डेंगी लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।