arrow

वस्तु विनिमयको परम्परा धान्दै इन्द्रावतीका भाँडा व्यवसायी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
Bhanda Byabasai.jpg

म्याग्दी । गत सोमबार बिहानै डोकोभरी अनेक भाँडावर्तन बोकेर तीन व्यापारी म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँट गाउँ आए ।

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-८ घर बताउने तीन व्यापारीमध्ये सबै भन्दाअघि थिए फूलबहादुर तामाङ । त्यसपछि धादिङ इन्द्रवतीकै केशवकुमार आचार्य र महेन्द्र गुरुङ । उनीहरुले भाँडाको भारी बोकेर गाउँगाउँमा डुल्न थालेको ४० वर्षभन्दा बढी भएको बताए ।

“चौध वर्षको उमेरदेखि भाँडाको भारी बोकेर गाउँ-गाउँमा डुल्न थालेको हुँ, यही पेसाबाट मेरो जिन्दगी चलेको छ, पुर्ख्यौली पेसा पनि धानिएको छ” फूलबहादुरले भने।

पर्वतको अर्मादीमा उनीसहित १२ जनाको समूहले भाँडा स्टोर गरेर राखेका छन् । “हाम्रो १२ जनाको समूह छ,अर्मादीमा भाँडा स्टोर छ, त्यहीबाट भाँडा विक्री र सटही गर्न म्याग्दी,पर्वत र बागलुङका विभिन्न गाउँमा जाने गर्छौ र पुराना भाँडालाई त्यही लगेर जम्मा गर्ने गर्छौंँ” फूलबहादुरले भने ।

गाउँमा तीन छोरा र श्रीमती भएका उनलाई आफ्ना पुर्खाहरुले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने हेक्का छैन तर पनि बाबुबाजेको पालादेखि नै यही पेसा गर्ने गरेकाले आफू पनि यही पेसामा लागेको फूलबहादुरले बताए ।

पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्किएका उनी अहिलेसम्म पनि सोही पेसामै छन् ।

डोकोमा ल्याइएको नयाँ भाडासहित गाउँमा लगेर केही बेच्ने र कोही साट्ने सिन्धुपाल्चोकका व्यापारीको पेसा पुस्तैनीको हो ।

उनीहरुले आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्ने र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिने गर्दछन् भने यदी नयाँको मूल्य कम भए आफूहरुले दिने र पुरानोको मूल्य कम भए ग्राहकसँग थप रकम लिएर साट्ने गर्दै आएका छन्

व्यापारी गुरुङका अनुसार व्यापार पहिलाको जस्तो छैन, अहिले सामान्य छ । वर्षमा एक पटक पर्वत बागलुङ म्याग्दी क्षेत्रमा व्यापारका लागि आउने गरेका उनीहरूले मासिक सबै खर्च कटाएर रु २० हजारदेखि रु २५ हजारसम्म जोगाउने गरेको बताउँछन् । “यही व्यापार सिकियो र यसैमा रमाएका छौँ, हुँदै भएन भने पनि महिनामा रु २० हजार रुपियाँसम्म जोगाउने गरेका छौँ”, गुरुङले भने ।

आधुनिक प्रविधिको विकास भएसँगै मानिस छिटो र भरपर्दो साधनको प्रयोगमा लाग्न थालेका छन् । आफ्ना आवश्यक्ता परिपूर्ति गर्न आधुनिक स्रोत र साधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका बासिन्दा आफै बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।

केही वर्ष अघिसम्म पुराना भाँडा सबैका घर-घरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरु गाउँ-गाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । हिजोआज गाउँघरतिर डोकोमा भाँडा बोकेर हिँडेको बिरलै भेटिन्छ । “धेरै पढाइलेखाइ छैन त्यसैले दुःख भए पनि पुर्खाले गरेको पेसा अङ्गाल्दै आइरहेका छौंँ,” अर्का व्यापारी केशवकुमारले भने ।

अहिले यातायातको सुविधा छ, तर भाडा खर्चमा लाग्ने रकम जोगाउन सकिन्छ की भनेर डोकोमा बोकेर जिल्लाका सबै ठाउँमा बिक्री र साटफेर गर्दै हिंड्छौं”, उनले भने। केही वर्ष अघिसम्म नयाँसँग पुराना भाँडा साट्नका लागि गाउँ–गाउँमा डोकोभरी भाँडा बोकेर हिँडेको पाइन्थ्यो ।

पूर्वका पश्चिम क्षेत्र र पश्चिमका पूर्वी क्षेत्रतिर भाँडा बोकेर साटफेर गर्न हिँड्ने गर्दथे । तामा, स्टिल र पित्तलका भाँडा बनाउने र बेच्ने व्यावसायी नै भरिया बनेर गाउँघरमा हिँड्ने गर्दथे तर हिजोआज यस्ता व्यापारी कतै भेटिदैनन् ।

ठाउँठाउँमा भारी बिसाउँदै थकाइ मार्दै वारी गाउँ र पारी गाउँ गर्दै डोकोभरीका नयाँ भाँडा बेचेर पुराना भाँडाले डोको भरेर घर फर्कन्थे ।

प्रायजसो भाँडा साटफेर गर्नेहरु जुम्लातिरबाट आउने गरेको बेनी नगरपालिका-२ बगरफाँटका बद्ध बेदप्रसाद उपाध्यायले बताए ।

गाउँघरमा बुढापाका भाँडा साट्न आउँछन् भनेर पुराना र टुटेका भाँडा सुरक्षित साथ राखिरहन्थे । त्यसबेला आफूलाई भाँडा साट्ने खोज्नपर्ने चिन्ता नभएको उनको भनाइ थियो ।-रासस



नयाँ