arrow

एक ओभरमा ४८ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
cricket-atal-afghanistan-2023.jpg

काठमाडौँ । अफगानिस्तानमा जारी काबुल प्रिमियर लिग क्रिकेटमा विरलै बन्ने कीर्तिमान बनेको छ । साहिन हन्टर्स र अबासिन डिफेन्डर्सबीचको खेलका क्रममा एकै ओभरमा ४८ रन बनेको हो । 

लिगमा साहिन हन्टर्सबाट खेलिरहेका सेदिकुल्लाह अतलले एकै ओभरमा सात छक्का प्रहार गरेका छन् । अतलले अमिर जाजाईको बलिङमा सात छक्कासहित ४८ रन प्रहार गरेका हुन् । 

खेलमा साहिन हन्टर्सका अतलले अबासिन डिफेन्डर्सबाट १९औँ ओभर बलिङका लागि आएका जाजईलाई ४८ रन प्रहार गरेका हुन् । 

जाजईको पहिलो बलमा अतलले छक्का प्रहार गरे । तर, उक्त बल ‘नो बल’ भएपछि हन्टर्सले सात रन पायो । त्यसपछिको बल वाइडसँगै चौका भएपछि हन्टर्सले पुनः पाँच रन पायो । 

यस्तै, ओभरको मान्यताप्राप्त पहिलो बलमा पनि अतलले छक्का प्रहार गरे । र, त्यसपछि जाजईले गरेको पाँचै बलमा लगातार अतलले छक्का प्रहार गरेपछि हन्टर्सले १९औँ ओभरमा सात छक्कासहित ४८ रन जोड्यो ।

२१ वर्षे अतलले अफगानिस्तानका लागि यसै वर्षको मार्चमा पाकिस्तानविरुद्ध एक टी–२० खेलेका थिए ।

अतलले अविजित रहँदै ११८ रन बनाउँदा हन्टर्सले २१३ रनको योगफल खडा गरेको थियो । 

अघिल्लो वर्ष भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा भारतका ऋतुराज गायकवाडले एकै ओभरमा सात छक्कासहित ४३ रन जोडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ