arrow

डम्फुको आत्मलाप सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
damfu-alap.JPG

काठमाडौं । सञ्चारकर्मी भक्त स्याङ्तानको कथा सङ्ग्रह ‘डम्फुको आत्मालाप’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रोफेसर अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले कथा सङ्ग्रह डम्फुको आत्मलाप सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रोफेसर अरुण गुप्तोले ‘डम्फुको आत्मालाप’ आमपाठकले नबुझ्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरु सहजै बुझिने गरी लेखिएको एक किसिमको दस्ताबेजका रूपमा रहेको बताए ।

सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले भने, ‘डम्फूको आत्मालाप तामाङ समुदायको आत्मा हो, तामाङको मर्म हो, तामाङको इतिहास पनि हो । यो कथा सङ्ग्रहले नेपाली साहित्यलाई नै मजबुत बनाउँछ ।’ उनले यो कथा सङ्ग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए ।

साङ्ग्रिला बुक्सबाट प्रकाशित ‘डम्फुको आत्मालाप’लाई निबन्धकार कुमारी लामाले नाराबाजी नगरीकन, नचिच्याईकन सालिन ढङ्गले आफ्नो पहिचानको दाबीलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको कृतिका रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘तामाङ संस्कृति अध्ययनका लागि यो पुस्तक उत्तिकै उपयोगी छ।’

आफ्नो पहिलो कथा सङ्ग्रह लिएर आएका लेखक भक्त स्याङतानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरूलाई नै उनेर यो सङ्ग्रह तयार पारेको बताए । कथा सङ्ग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा सङ्गृहीत छन् । २ सय २३ पृष्ठको कथा सङ्ग्रहको मूल्य ४ सय ७५ रुपैयाँ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ