arrow

सीमित स्रोतबीच मानवअधिकार आयोगको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
rekha-sharma-sanchar-mantri.jpg
तस्बिर-फाइल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन् । 

आयोगको कार्यालयमा आज मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताइन् ।  

“साधनस्रोतको सीमितताका बावजुद पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बावजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्त्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पाथ्र्याे र राहत  हुन्थ्यो”, मन्त्री शर्माले भनिन् । 

उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि सङ्कलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरिन् । 

पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामथ्र्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरे । 

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि इलान्का मेडागान्डा लावेले राष्ट्रिय मानवअधिकार आयोगले गरेको यो कार्यका लागि बधाई दिँदै तथ्याङ्क सङ्कलन र दस्तावेजीकरणको धेरै महत्त्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरे ।

उनले अध्ययनशील मानिसका लागि ज्ञान हासिल गर्न महत्त्वपूर्ण हुने धारणा राखे । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आयोगसँग सहकार्य गर्न चाहन्छु भन्दै आयोगको नयाँ भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले नेपालको अभिलेखालय विभिन्न अन्तर्राष्ट्रिय देशका लागि अनुकरणीय बनोस् भन्ने चाहना आयोगको रहेको बताए । 

उनले मानवअधिकार सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय भएको भन्दै मानवअधिकार ऐनको आवश्यकता औँल्याए।

अभिलेखालयमा मानवअधिकार आयोग स्थापनाको पृष्ठभूमि, हालसम्मका पदाधिकारीहरूको विवरण, द्वन्द्वकालमा आयोगले खेलेको भूमिका, अनुगमनका क्रममा भेट्टाएका महत्त्वपूर्ण सामग्री, अनुगमनका क्रममा कैद गरिएका तस्बिरलगायतका सन्दर्भ सामग्री राखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ