arrow

हिमताल बन्यो आकर्षणको केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
Himtal-manang.jpg

मनाङ । मनाङमा यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । 

विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।

यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । 

यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । 

यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ छ ।

जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन् । 

कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताललगायत छन् ।

यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । 

उनले भने, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”

झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए । 

“नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उनले भने । 

चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् ।

मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेको छ । 

यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् ।

यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।

यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । 

तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । 

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए । 

यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उनले बताए ।

हिमालबाट लुकेर आएको पानी नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । 

यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । 

पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ ।

दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । 

ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । 

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।

काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ