यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।
उनले भने, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”
झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए ।
“नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उनले भने ।
चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् ।
मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेको छ ।
यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् ।
यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।
यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ ।
तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए ।
यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उनले बताए ।
हिमालबाट लुकेर आएको पानी नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् ।
यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।
पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ ।
दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् ।
ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।
काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । -रासस