arrow

आरएटी लेखेर वाकीटकीसहित रास्वपा उत्रिएपछि छानबिन गर्न प्रहरीलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
rsp-rat.jpg
तस्बिर– रास्वपाको फेसबुक पेजबाट ।

चितवन । जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आरएटी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएपछि  प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।

आफू विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति एवं चितवन २ सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए ।

उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

‘छुट्टै प्रशासन खडा गर्ने चेष्टा गरेका रविलाई जवाफ दिँदै प्रशासनले भनेको छ, ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं । विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन् ।’

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए ।

तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले जानकारी दिएका छन् । 

विपद्मा जोसुकैले सघाउन सक्ने भए पनि कुनै पार्टीको फोर्स खडा गरेर प्रशासनकै शैलीमा उत्रिएपछि भने प्रशासनले गम्भीर आपत्ति जनाएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ