काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपश्चात् नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकको सुरुमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा पार्टी सभापति रवि लामिछानेले निर्वाचित सदस्यहरूलाई बधाई दिँदै पार्टीको चुनाव चिह्न ‘घण्टी’ र प्रमाणपत्र प्रदान गरे। बैठकले विभिन्न साङ्गठनिक निर्णयहरू गर्दै महत्त्वपूर्ण आयोगहरू समेत गठन गरेको छ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै महामन्त्री विपिन आचार्यले पहिलो एजेण्डाका रूपमा महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, सुरक्षाकर्मी, सरकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरिएको बताए। निर्वाचन आयोगबाट अनुमोदित नयाँ विधानको व्यवस्था बमोजिम बैठकले पार्टीका तीनवटा महत्त्वपूर्ण आयोगहरू गठन गरेको छ। जसअन्तर्गत अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनित गरिएको छ। निर्वाचन आयोग र लेखा आयोगको हकमा भने पुराना संरचनाहरूलाई भङ्ग गरी सोही सदस्यहरूलाई पुनः जिम्मेवारी दिने निर्णय बैठकले गर्यो।
केन्द्रीय समितिमा रिक्त रहेका सदस्य, पदाधिकारी तथा प्रवक्ताको मनोनयनका सम्बन्धमा भने यस बैठकमा कुनै निर्णय नभएको महामन्त्री आचार्यले स्पष्ट पारे। मनोनयनको अधिकार पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी बमोजिम आगामी बैठकहरूमा यस प्रक्रियालाई अगाडि बढाइने उनले जानकारी दिए। यसका साथै बैठकमा पार्टीको ‘डिजिटल डोमेन’ र आन्तरिक व्यवस्थापनका प्राविधिक विषयमा समेत प्रारम्भिक छलफल भएको उनले बताए।