arrow

रविपछि स्वर्णिम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
swarnim-team.jpg

काठमाडौँ। असारको पहिलो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नेपाली राजनीतिक वृत्तमा सर्वाधिक चर्चाको विषय बन्यो। ७ असारमा उद्घाटन भएको महाधिवेशन ९ असारमा सम्पन्न गर्ने कार्यतालिका रहे पनि व्यवस्थापकीय कमजोरीका कारण तीन दिन लम्बिँदै १२ असारमा मात्र सम्पन्न भएको थियो।

दोस्रो चरणको मतदानपछि पदाधिकारीहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै महाधिवेशनको औपचारिक समापन भयो। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिमा अन्य कुनै उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भए भने अन्य पदाधिकारीमा निर्वाचन भएको थियो।

विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न निर्वाचनमा पहिलो चरणको तुलनामा दोस्रो चरणमा प्रतिनिधिको सहभागिता उल्लेख्य रूपमा घटेको देखियो। केन्द्रीय सदस्य चयनका लागि पहिलो चरणमा दुई हजार ९५९ मत खसेको थियो भने दोस्रो चरणमा जम्मा एक हजार २८९ मत मात्र खस्यो। यसरी पहिलो चरणको तुलनामा करिब एक हजार ६७० मत कम खसेको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनबाट सभापतिसहित सात जना निर्वाचित पदाधिकारी चयन भएका छन्। वरिष्ठ नेतामा वालेन्द्र साह ‘बालेन’ स्वतः निर्वाचित भए। १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित भएका छन् भने बाँकी ५१ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।

निर्वाचनको क्रममा मतदानस्थलमा धेरै सक्रिय नदेखिएका निवर्तमान उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने देशभरका प्रतिनिधिको सर्वाधिक रोजाइमा परेका छन्। बजेटमा करका दर हेरफेर तथा बजेट पुस्तिकामा देखिएका त्रुटिका कारण बाहिर आलोचनाको केन्द्रमा रहेका उनी पार्टीभित्र भने अत्यधिक लोकप्रिय देखिएका हुन्।

प्रवासमा रहेका सदस्यहरूको मतदान र विद्युतीय मतदान शुरू हुनुअघि उपसभापतिका आकांक्षी विराजभक्त श्रेष्ठले आफ्नो उम्मेद्वारी फिर्ता लिएर डा. वाग्लेलाई समर्थन गरेपछि उनी निर्विरोध उपसभापति बनेका थिए। रास्वपा इलामका सभापति दिनेश महतका अनुसार महाधिवेशनभर प्रतिनिधिहरूबीच डा. वाग्ले र डीपी अर्यालको नाम सबैभन्दा बढी चर्चामा थियो।

उनले भने, "डा. वाग्लेलाई मतदानस्थलमा धेरै देख्न पाइएन। मैले पनि भेटिनँ। तर प्रतिनिधिहरूको छलफलमा उहाँकै चर्चा बढी थियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थविद् भएकाले उहाँप्रति प्रतिनिधिहरूको विशेष आकर्षण थियो।

पार्टीभित्र नीति, सिद्धान्त र दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका डा. वाग्लेले प्रवासबाट खसेका मतसहित कुल दुई हजार ६५६ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार प्रवास समितिबाट खसेको शतप्रतिशत मत पनि उनले नै पाएका थिए।

पार्टीका संस्थापक सभापति रवि लामिछानेका प्रमुख सल्लाहकारका रूपमा समेत चिनिने डा. वाग्लेको नाम मतपत्रमा पहिलो नम्बरमा हुनु, देशभरका प्रतिनिधिमाझ परिचित र लोकप्रिय हुनु तथा बौद्धिक र तार्किक नेतृत्वका रूपमा स्थापित भएकाले उनले सर्वाधिक मत प्राप्त गरेको नेताहरूको विश्लेषण छ।

रास्वपा डोटीका सहसचिव तथा संगठन विभाग प्रमुख डिल्लीराज भट्टले पनि महाधिवेशनमा रवि लामिछाने र वालेन्द्र शाहपछि सबैभन्दा बढी चर्चा डा. वाग्लेकै भएको बताए। उनका अनुसार, "मतपत्रमा उहाँको नाम पहिलो नम्बरमा थियो। त्यसभन्दा पनि पार्टीको नीति निर्माणमा उहाँको भूमिका महत्वपूर्ण रहेकाले प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका हुन्।"

८८ प्रतिशत मतसहित आभार

निर्विरोध उपसभापति बनेपछि डा. वाग्लेले सामाजिक सञ्जालमार्फत प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले चार वर्षअघि २१ सदस्यीय समूहबाट सुरु भएको रास्वपा आज पाँच लाखभन्दा बढी सदस्य भएको राष्ट्रिय दलका रूपमा स्थापित भएको उल्लेख गर्दै पहिलो महाधिवेशन ऐतिहासिक भए पनि अपेक्षाभन्दा जटिल बनेको बताए।

उनले लेखेका छन्, "पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्नेछौं। मप्रति विश्वास व्यक्त गर्दै ८८ प्रतिशत लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा निर्विरोध उपसभापति चयन गर्नुहुने सम्पूर्ण प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दछु।"

अन्तर्राष्ट्रिय अनुभवदेखि राष्ट्रिय राजनीतिसम्म

डा. वाग्ले विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा दुई दशकभन्दा बढी समय कार्यरत रहिसकेका वरिष्ठ अर्थविद् हुन्। यूएनडीपीको एशिया–प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा उनले ३६ देशको विकास रणनीति निर्माणमा भूमिका खेलेका थिए।

सन् २०१४ देखि २०१८ सम्म राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्ष बनेका उनी पछि रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गरेका थिए। २०८० मंसिर १६ गते पार्टीले उनलाई उपसभापतिमा मनोनयन गरेको थियो भने पहिलो महाधिवेशनबाट उनी पुनः पार्टीको निर्णायक नेतृत्वमा पुगेका छन्।

संकटका बेला रविका मुख्य सारथि

रास्वपा स्थापना भएपछि सभापति रवि लामिछाने सहकारी प्रकरणलगायत विभिन्न कानुनी विवादमा तानिए। पार्टीले ती घटनालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएको छ। यही अवधिमा डा. स्वर्णिम वाग्ले र डिपी अर्यालले सार्वजनिक रूपमा पार्टी र सभापतिको पक्षमा उभिँदै राजनीतिक तथा कानुनी बहस अघि बढाएका थिए। पार्टी नेतृत्वका अनुसार संकटको समयमा संगठन जोगाउने, आन्दोलनलाई नेतृत्व दिने र वैकल्पिक राजनीतिक शक्तिको अभियानलाई निरन्तरता दिन डा. वाग्लेको भूमिका महत्वपूर्ण रह्यो।

रास्वपाभित्र उनको राजनीतिक कूटनीति, नीति निर्माण क्षमता, संगठन विस्तारमा बौद्धिक नेतृत्व तथा प्रतिनिधिहरूसँगको विश्वासका कारण आगामी दिनमा पनि पार्टीभित्र उनको भूमिका थप प्रभावशाली रहने अपेक्षा गरिएको छ। साथै अर्थमन्त्रीका रूपमा उनले अघि सारेका आर्थिक सुधारका कार्यक्रमलाई राजनीतिक रूपमा अघि बढाउन पनि यो जिम्मेवारीले थप सहयोग पुग्ने विश्लेषण गरिएको छ। (नेपाल न्यूज बैँक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ