arrow

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो – सचिवालय

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
Sunil-Sharma-&-Bigyapti.jpg

काठमाडौँ । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा. सुनील शर्मालाई पक्राउ गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । 

शर्माको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।

    मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । 

सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणासमेत गरेका थिए । 

सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार दिउँसो करिब ३ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । 

संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नदिई बिना पक्राउ पुर्जी पक्राउ गरिएको भन्दै उनको सचिवालयले घटनाको भर्सना गरेको छ ।

 जनताको पक्षमा आवाज उठाउँदा वाक स्वतन्त्रताको खिल्ली उडाउँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरी पक्राउ गरिएको सचिवालयको ठहर छ । 

‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआइबीले क्रुरतापुर्वक  पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको पक्षमा आवाज उठाउदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसइबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक् स्वतन्त्रताको खिल्ली उडाउँदै प्रजातन्त्रको मर्म विपरीत सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरूलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भर्सना गर्दछौँ ।’

    यो कदमलाई वर्वर, अमानवीय र गैर प्रजातान्त्रिकको संज्ञा दिँदै यसको सशक्त प्रतिकार गर्न पनि आम जनसमुदायलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ