arrow

सुनील शर्मालाई फसाउन पक्राउ गरिएको कांग्रेसको आरोप

logo
विवेक मिश्र, 
प्रकाशित २०८० साउन २६ शुक्रबार
dr-sunil-sharma-morang-congress-npbel.jpg
तस्बिर – फाइल ।

मोरङ । सांसद डा सुनील शर्मालाई सुनियोजित रुपमा फसाउन पक्राउ गरिएको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ समितिले जनाएको छ । आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै  नेपाली कांग्रेसको क्षेत्रीय समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पक्राउप्रति आपत्ति जनाएको हो । 

मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेशकुमार खड्काद्वारा जारी विज्ञप्तिमा सभामुखलाई जानकारी नदिई संसदीय मर्यादा विपरीत र अदालतको पक्राउ पुर्जी बिना नै पक्राउ गर्नु गलत भएको उल्लेख छ । पूर्वाग्रही हिसाबले प्रतिसोध साध्न सुनील शर्मालाई पक्राउ गरिएको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ का सचिव राजेन्द्र अधिकारीले बताए ।
    
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद शर्मालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै क्षेत्रीय समितिले घोर भर्त्सना र निन्दा गरेको छ ।

पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका शर्मालाई विभिन्न बहाना झिकी पक्राउ गरिएको विज्ञप्तिमा भनिएको छ । 

आर्थिक सङ्कटको समयमा विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध अभियान चलाएका शर्मालाई पक्राउ गर्नु भ्रष्ट, तस्करी र माफियालाई संरक्षण गर्ने सरकारको रणनीति प्रस्ट भएको कांग्रेसको क्षेत्रीय समितिले ठहर पनि गरेको छ ।



नयाँ